न्यूक्यासलले म्यानचेस्टरलाई हरायो

न्यूक्यासलले म्यानचेस्टरलाई हरायो


न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। न्यूक्यासलले घरेलु मैदानमा युनाइटेडलाई १-० ले पराजित गरेको हो।

न्यूक्यासलको जितमा दोस्रो हाफमा एन्थोनी गोर्डनले गरेको गोल नै निर्णायक बन्यो। सेन्ट जेम्स पार्क न्यूक्यासलमा शनिबार राति भएको खेलमा गोर्डनले ५५औँ मिनेटमा गोल गर्न सफल भएका थिए।

खेलमा पनि घरेलु टोली न्यूक्यासलले नै पकड जमाएको थियो। युनाइटेडले केही आक्रमण बुनेपनि न्यूक्यासलको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो।

११औँ मिनेटमा एलेहान्द्रो गर्नाचोको प्रहारलाई न्यूक्यासलका गोलरक्षक पोपले बचाए। १७औँ मिनेटमा लेविस मिलेको प्रहारलाई युनाइटेडका गोलरक्षक आन्द्रे ओनानाले डाइभ दिँदै बचाए।

२०औं मिनेटमा एलेक्सान्डर इसाकको प्रहारलाई ह्यारी मगाएरले ब्लक गर्दै युनाइटेडको संकट टारे। ३९औँ मिनेटमा काइरन ट्रिपिएरको फ्रिकिक बारमा लाग्दै बाहिरिदा न्यूक्यासल अग्रता लिनबाट चुक्यो।

५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै न्यूक्यासललाई १-० को अग्रता दिलाए। ७८औँ मिनेटमा न्यूक्यासलले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई आफ्नो ध्यानमा राखेनन्। ८२औँ मिनेटमा लुका साको कर्नरमा सर्जियो रिगुइलनको हेडरलाई फावियन स्चरले क्लियर गरिदिदा युनाइटेड बराबरीबाट चुक्यो।

यस नतिजासँगै म्यानचेस्टर युनाइटेडले सन् १९२२ पछि न्यूक्यासलसँग लगातार तीन खेलमा हार बेहोरेको छ। युनाइटेड यसअघि गत अप्रिलमा भएको प्रिमियर लिगमा २-० ले तथा नोभेम्वरमा भएको इएफएल कपमा ३-० ले पराजित भएको थियो।

यस जितसँगै न्यूक्यासल १४ खेलबाट २६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। पराजित युनाइटेड २४ अंक जोडेर सातौं स्थानमा झरेको छ।

Logo