कालीमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ

कालीमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ


काठमाडौं ।

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय प्रहरी काममा फर्किसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

यस क्षेत्रमा खटिने ५१ जना ट्राफिक प्रहरीको समेत परीक्षण भएको थियो । यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षकमा कोभिड–१९ पुष्टि भएपछि कालीमाटी वृत्त र त्यस आसपासका प्रहरी विट तथा महिला सेललाई सिल गरेर पिसिआर परीक्षण गरिएको थियो । सो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समेत पिसिआर परीक्षण गरिएको थियो । कोभिड–१९ सङ्क्रमण भएका दुई प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ भएका छन् । दुवैजनालाई आजै होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म मुलुकभर गरेर २० प्रहरीलाई कोभिड–१९ देखिएको छ । उनीहरुमध्ये धेरैको उपचार भइरहेको र उपचारपछि रिपोर्ट नेगेटिभ आएकालाई भने क्वारेन्टाइनमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए ।रासस

Logo