१३ मंसिर २०७८ सोमबार

सर्वोच्चद्वारा एन्फाको नाममा कारण देखाउ आदेश

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को नाममा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता केसीले गत असार २२ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । केसीले एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राई गरी तीन जनालाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराएका थिए । न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेश गर्न भनेको छ ।

रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रुपमा निर्माण गरिएको र त्यो मुद्दा विचाराधीन अवस्थामा रहे पनि एन्फा र पदाधिकारीले अदालतको आदेशलाई अवहेलना गरेको कारण मुद्दा दर्ता गरिएको थियो ।

त्यस अघि केसीले माघ २१ गते रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि माघ २९ गते एकेडेमीका सम्बन्धमा भए गरेका निर्णयहरु कार्यान्वयन नगर्नु–नगराउनु यथास्थितिमा राख्नु भनी सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । तर, एन्फाको गत माघ २६ गते बसेको कार्यसमितिको बैठकले एकेडेमीको सम्बन्धमा थप निर्णय गर्नु सर्वोच्च अदालतको आदेशविरुद्ध भएको निवेदनमा उल्लेख गरिएको छ ।

एन्फाको त्यस बैठकले एकेडेमीबारे ३ निर्णय गरेको थियो । जसमा निर्माण सम्पन्नको प्रमाणपत्र बुझाएकोले त्यसलाई स्वीकृत गर्ने, ३९ लाख ५७ हजार १ सय १७ रुपैँयाँ घेरा बार र गार्ड हाउस निर्माण तथा ४५ लाख ९७ हजार ७ सय १ रुपैँयामा फ्लोरिसिङको काम पनि टेक प्रालिलाई नै ठेक्का दिने अर्को निर्णय गरेको छ । त्यस्तै सो बैठकले सो एकेडेमीमा ५७ लाख ८६ हजार ८ सय ३ रुपैयाँ लागतमा फर्निसिङका लागि भनि नयाँ टेन्डर आह्वान गर्ने निर्णय समेत गरेको थियो ।

प्रकाशित: २९ असार २०७७ १३:३३ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी