वीरगन्जमा १०४ पत्रकारको स्वाब संकलन

वीरगन्जमा १०४ पत्रकारको स्वाब संकलन


वीरगन्ज ।
दुईजना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले बुधबार आफैं अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । पर्सामा मङगलबार एकैदिन थप ५७ कोरोना संक्रमीत भेटिएका थिए । ती मध्ये वीरगन्जका २ पत्रकार पनि छन् । दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको छ ।

सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका थप पत्रकार आतंकित भएका छन् । वीरगन्ज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि स्वाबको नमूना दिएका हुन् ।

बुधबार पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमीत दुई पत्रकारको परिवारका सदस्यको स्वाब पनि संकलन गरिएको उनले बताए । बुधबार संकलन गरिएका स्वाब रिपोर्ट सम्भवत शुक्रबारसम्म आउने सम्भावना रहेको पनि उनले बताए ।

मङगलबार संक्रमण पुष्टि भएका २ पत्रकार गत आइतबार वीरगन्जका पत्रकार तिवारी यादवसँग प्रहरीले गरेको दुर्व्यवहारको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाइमा लगातार ३ दिनसम्म भएको आन्दोलनमा सहभागी थिए ।

प्रहरीले गरेको दुर्व्यवहारको विरोधमा महासंघको अगुवाइमा गत आइतबार चार दर्जन भन्दा बढी पत्रकार जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए । सोमबार र मङगलबार पनि घण्टाघर चोकमा पत्रकारले धर्नासहितको प्रदर्शन गरेका थिए । मङगलबार नै पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर पत्रकारले प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र पनि बुझाएका थिए ।अन्नपूर्णबाट

Logo