एसपालमाथि शानदार जित निकाल्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले एसपालमाथि ४–० को फराकिलो जित निकालेका हो । खेलको १६औं मिनेटमा अल्भारो मोराटाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । एड्रिएन राबिओटमाथि भिकारीले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो ।
३३औं मिनेटमा जियानलुलका फ्राबुट्टाले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ७८औं मिनेटमा कुलुसेभ्स्कीले फेडरिको चियसाको पासमा गोल गर्दै युभेन्टसलाई फराकिलो जिततर्फ अग्रसर गराए ।
९०औ मिनेटमा चियसाले कोसिमो मार्काे दा ग्राकाको पासमा गोल गर्दै युभेन्टसलाई ४–० को फराकिलो जित दिलाए । अब युभेन्टसले सेमिफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।
प्रकाशित: १५ माघ २०७७ ०७:५३ बिहीबार