काङ्ग्रेस नेता रमेश लेखकलाई पितृशोक

काङ्ग्रेस नेता रमेश लेखकलाई पितृशोक


काठमाडौं,

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ । काङ्ग्रेस नेता एवं पूर्वमन्त्री लेखकका बुबा डा प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा गएराति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिनुभयो ।

स्व. लेखकको पार्थिव शरीरलाई आज बिहान नैकापस्थित निजी निवासमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो ।

काङ्ग्रेसद्वारा दुःख व्यक्त

नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकका बुबा प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गरी शुक्रबार राति ८९ वर्षको उमेरमा निधन हुनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का लेखकको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “लेखकको निधनले मलाई स्तब्ध, दुःखी र मर्माहत बनाएको छ, लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले लेखकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त केन्द्रीय सदस्य रमेश लेखकसहित परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
रासस

Logo