झापामा चन्दका १७ कार्यकर्ता पक्राउ

झापामा चन्दका १७ कार्यकर्ता पक्राउ


सुरुङ्गा,
झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमक लगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

सोमबार बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय (७, ८ र ९) मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि चन्द समूहले नै विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो । मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।

चन्द समूहका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ

यता बर्दियाको राजापुरमा प्रहरीले नेत्रविक्रम चन्द समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । अर्याललाई सोमबार सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताउनुभयो ।

चन्द समूहलाई चन्दा नदिन आग्रह

यस्तै प्रदेश नं. ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग आग्रह गर्नुभएको छ ।

उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उहाँले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गर्नु भएको हो । प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन ? राज्यभन्दा ऊ ठूलो भयो ? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी) ले चन्दा दिएको पैसा कहाँबाट उठाउनु हुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपाईं हामी सचेत हुन जरुरी छ ।”

उद्योग व्यवसायको सुरक्षा गर्न नेपाल प्रहरी तत्पर रहेको उल्लेख गर्दै उहाँले मर्यादामा रहेर पेशा सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो । उद्योग वाणिज्य सङ्घ नवलपरासीले परासीमा आयोजना गरेको औद्योगिक सुरक्षा सम्बन्धी छलफलमा प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “उद्योग व्यवसाय भनेको राज्यको मेरुदण्ड हो, तपाईंहरु सबल सक्षम रहे मात्र राष्ट्रको उन्नति हुन्छ, हामी सधैँ सुरक्षा दिन तत्पर छौँ ।”

सशस्त्र प्रहरी प्रदेश नं ५ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले खुल्ला सिमानाबाट हुने चोरी–तस्करी तथा अपराध नियन्त्रणमा निरन्तर लागिरहेको बताउनुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा रकमको बार्गेनिङ गरेर चोरी–तस्करी मौलाएको भन्ने व्यवसायीको जिज्ञासामा उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाईदै आएकाले कुनै प्रहरी कर्मचारीले त्यस्तो गरेको पाएमा खबर गर्न पनि आग्रह गर्नुभयो । उहाँले औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरी प्रतिबद्ध छ भन्नुभयो ।
रासस

Logo