एसियन -याफ्टिङ च्याम्पियनशिपका लागि नेपाली टोली भारत प्रस्थान

एसियन -याफ्टिङ च्याम्पियनशिपका लागि नेपाली टोली भारत प्रस्थान

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । एसियन -याफ्टिङ च्याम्पियनशिपका लागि नेपाली टोली आज भारत प्रस्थान गरेको छ । वल्र्ड -याफ्टिङ फेडेरेसनले आयोजना गरेको उक्त च्याम्पियनशिप भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लामा मार्च ३ देखि १० तारिखसम्म हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार नेपाली टोलीमा सबिन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर खेलाडी रहेका छन् । अफिसियलमा महेश थापा, साथै प्रशिक्षक भीष्मराज थपलिया रहेका छन् । परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका थिए ।

प्रशिक्षक थपलियाले उक्त च्याम्पियनशिपमा सात देशका २० टोली सहभागी हुने जानकारी दिए । “यसभन्दा अगावै अन्तरराष्ट्रिय -याफ्टिङ फेडेरेसनले आयोजना गर्दै आएको वल्र्ड कपमा नेपालले सहभागिता जनाउँदै आएको थियो, यस वर्ष वल्र्ड -याफ्टिङ फेडेरेसनले एसियन -याफ्टिङ च्याम्पियनशिप आयोजना गरेको छ, त्यसमा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको हो”, उनले भने ।

उनका अनुसार नेपालले विगतमा प्रत्येक वर्ष राष्ट्रिय टोली छनोट गरी वल्र्ड कपमा विभिन्न देशमा सहभागिता जनाउँदै आएको थियो ।

Logo