नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

केन्द्रबिन्दु
112
Shares

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध सानदार जित दर्ता गरेको छ । शनिबार भएको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित दर्ता गरेको हो । पहिलो र दोस्रो खेलमा लगातार हार व्यहोरेको नेपालले त्यसपछिका दुई खेलमा भने लगातार जित निकाल्दै नेपालले फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले जितका लागि दिएको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन जोडे । उनी अर्धशतकबाट भने चुके । १५औं ओभरको तेस्रो बलमा उनी अर्धशतक बनाउन धुनमा लामो सट प्रहार गर्न खोज्दा भीभीएन किङ्माको बलमा क्रसले उत्कृष्ट क्याचआउट गराए । ३४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । उनलाई क्रिजमा दरिलो साथ दिए गुलसन झाले । गुलसनले ३८ रन जोडे ।

राम्रो सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी तेस्रो ओभरको तेसा्रे बलमा १२ रन बनाउउँदै आउट भएका हुन् । त्यसलगत्तै पाँचौं बलमा अर्का ओपनर आशिफ शेख पनि आउट भए । उनी ८ रनमा आउट भएका हुन् ।

नेदरल्यान्ड्सका भीभीएन किङ्मा एक्लैले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियाे । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो ।  सिरिजमा नेदरल्याण्ड्स र नेपालकाे समान ४-४ अंक छ । रन रेटका आधारमा क्रमशः पहिलाे र दाेस्राे छन् । नामिबियाकाे दुई अङ्क छ ।

Logo