९ महिनामै बन्याे क्रिकेट रङ्गशाला, पारस खड्काकाे टिमले जित्याे पहिलाे उपाधि

९ महिनामै बन्याे क्रिकेट रङ्गशाला, पारस खड्काकाे टिमले जित्याे पहिलाे उपाधि

केन्द्रबिन्दु
112
Shares

शिलान्यास भएको ९ महिनामै निजी लगानीमा क्रिकेट रङ्गशाला सुरु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एकल लगानीमा निजी रङ्गशाला निर्माण भएको हो । अष्ट्रेलियामा बस्ने गुल्मीका विनोद कुँवरले तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा साढे ५ विगाह जग्गामा एकल लगानीमा क्रिकेट मैदान बनाउन भएको हो । ९ महिनामै तयार भएको उक्त रङ्गशालाको सोमबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले सामाजिक काममा लगानी गर्न नेपालीहरु तयार हुनुपर्ने बताए ।

सरकारले लगानी गर्नुको सट्टा एक जना ब्यक्तिले निजि लगानीमा ९ महिनामै क्रिकेट मैदान तयार गरेर सरकारलाई चुनौती दिएको संघिय सांसद चन्द्र भण्डारीले बताए ।

२०८० साल जेठ २९ गते शिलान्यास भएको मैदानमा जग्गाबाहेक ७ करोड खर्च भएको एक्स्ट्रा ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताए । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै सुरू हुने उनले बताए ।

रङ्गबालाको दोस्रो चरणको काम शुरु भईसकेको छ । यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरूको ५ हजार क्षमताको निर्माण कार्य शुरु गरिने छ । चैतबाट साइडको सानो मैदानको काम पनि शुरु हुनेछ । जहाँ प्रशिक्षण गर्न मिल्नेछ ।

अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुनेछ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेटका एकदिवसीय खेलहरु काठमाण्डौं बाहिर पनि आयोजना गर्दै लैजाने नेपाल क्रिकेट संघको योजनामा निजि लगानीका यस्ता रङ्गशालाहरुले सहयोग गर्ने बताए ।

यसैबीच क्रिकेट मैदानको उदघाटनको अवसर पारेर एकदिने एक्स्ट्राटेक लिजेन्ड कप प्रतियोगिता सम्पन्न भएको छ । टी–१० संरचनामा सञ्चालन भएको एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको, एलबी क्षेत्रीले सन् १९९६ टिमको, पूर्व कप्तान विनोद दासले रेस्ट अफ नेपालको र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका थिए । पारस खड्का नेतृत्वकाे सन् २०१४ विश्वकप लिजेण्ड्सले एक्साट्रेक लिजेण्ड कपकाे उपाधि जितेकाे छ । रुपन्देहीको तिलाेत्तमा-१७, पूर्व दरखसवामा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा खड्का नेतृत्वको टिमले अर्का पूर्व राष्ट्रिय कप्तान बिनाेद दास नेतृत्वको रेष्ट अफ नेपाललाई १७ रनले पराजित गरेकाे हाे ।

Logo