कुलमानको आक्रोशपछि रोकिएको सबस्टेशन निर्माणको काम सुरु

कुलमानको आक्रोशपछि रोकिएको सबस्टेशन निर्माणको काम सुरु


काठमाडौं । नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशुली थ्री बी हब सबस्टेशनको निर्माणको काम सुरु भएको छ । बिहीबार विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ निर्माणस्थल पुगेर आक्रोश पोखेपछि रोकिएको काम सुचारु भएको हो ।

त्रिशूली बेसिनमा निर्माणाधीन आयोजनाको विजुलीका लागि निर्माण भइरहेको सबस्टेसन नजिकै केही स्थानीयले अबरोध गर्दै आएका थिए । अवरोधपछि अनुगमनमा गएका घिसिङले ‘दिनमै मुलुकलाई करोडौं क्षति हुन्छ, त्यसको जिम्मा कसले लिने ?’ आक्रोश पोखेका थिए ।

घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । यो सब(स्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फको भागमा भइरहेको छ । तर, त्यहाँ २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयले अवरोध पुर्‍याएर काम रोकेका थिए ।

त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदै गर्दा अवरोध भएको थियो । आयोजनाले आफ्नो निर्माणस्थलतर्फ पर्खाल लगाउनुअघि नै रसुवातर्फको भागमा पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । स्थानीयको माग अनुसार नै खाल्डो खनिसकेपछि पनि १३ मिटर पछाडि सारेर पर्खाल निर्माण थालिएको थियो ।

निर्माण अगावै त्यहाँ सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फको स्थानीयले अहिले भने पटक(पटक विभिन्न माग तेस्र्याएर अवरोध पुर्‍याउँदै आएका छन् । बिहीबार घिसिङ पुग्नासाथै स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापामगरको नेतृत्वमा आएका केही स्थानीयले घिसिङलाई घेरा हालेका थिए। उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वरमा गर्जिएपछि कुलमान रिसाएका थिए ।

घिसिङले सब(स्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरहरुको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने बताएका थिए । उनले सबस्टेशन निर्माणको नरोक्न आग्रह गर्दै स्थानीयको मागमा आफू गम्भीर रहेको बताएपछि शुक्रबार विहानबाट काम सुरु भएको प्राधिकरणले जनाएको छ ।

Logo