‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यास : प्रधानमन्त्री

‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यास : प्रधानमन्त्री


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय अभ्यास भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको दाबी गरेका हुन् ।

‘म मेरो देश भन्छु । मैले मेरो देश भन्दा अरूको होइन भनेको हो र ? मेरो देश, मेरो राष्ट्रिय गान, मैले बनाएको मेरो मात्र हो र ? तर यो मेरो राष्ट्रिय गौरवको विषय हो,’ प्रधानमन्त्रीले भने, ‘मेरो सरकार’ को अर्थलाई बृहत् र सामूहिक रुपमा बुझ्ने प्रयास गर्नुपर्छ ।’

राष्ट्रपति देशको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीले थपे, ‘यसमा अन्यथा मान्नु पर्ने आवश्यकता छैन । राष्ट्रपतिको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो ।’ राष्ट्रपति राष्ट्र प्रमुख हो, संस्था हो । मैले व्यक्तिको कुरा गरिराखेको छैन । त्यसैले राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो । यो जननिर्वाचित सकार हो र उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो,’ प्रधानमन्त्रीले भने । यस्तो अन्तर्राष्ट्रिय अभ्यासबारे बौद्धिक जगत तथा मिडिया बेखबर जस्तै बन्दा आश्चर्य लागेको उनले बताए ।

‘धेरै परको कुरा छोडौं । संसारभरिका कुरा छोडौं, अन्य मुलुकका कुरा पनि छोडौं । छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ । भारतमा अर्को पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माई गभर्मेन्ट’ भन्ने चलन छ । भारतका धेरै राष्ट्रपतिले धेरैपटक ‘माई गभर्मेन्ट’ भनेका छन् । त्यहाँका राष्ट्रपतिले के डेमोक्रेसी नबुझेर यस्तो भनेका हुन् ? अनि हाम्रो देशमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने ? भारत पनि गणतन्त्रात्मक मुलुक हो । तर हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो । यसमा झल्को लाग्नुपर्ने कुनै आवश्यकता छैन।’
नागरिकबाट

Logo