दूरी घटाउन ओली–दाहाल भेट

दूरी घटाउन ओली–दाहाल भेट


काठमाडौँ

भेनेजुएलाको राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ ।

उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । भेटमा भेनेजुएला सम्बन्धी विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरण सम्बन्धी विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

‘दुई अध्यक्षका फरकफरक धारणा सार्वजनिक भएपछि त्यसले पार्टीभित्र अन्योल जन्माउनुका साथै विवाद पनि बढाइरहेका बेला दुई अध्यक्षको भेटले सार्थक रुप लिएको छ’, बालुवाटार स्रोतले भन्यो । स्रोतका अनुसार पार्टीभित्रकै नेताहरुले दुई अध्यक्षका भनाइलाई आआफ्नो तरिकाले व्याख्या गर्न थालेका थिए ।

दुई नेताबीच भेनेजुएला प्रकरणमा देखिएको विवादबारे सरकार र पार्टीको धारणा सार्वजनिक भइसकेको अवस्थामा अब त्यस विषयमा कहीं कतैबाट अर्को अभिव्यक्ति सार्वजनिक नगर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रिया तत्काल टुंग्याउने सहमति भएको छ ।

भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीभित्र मतभेद उत्पन्न भएको थियो । सो विज्ञप्ति प्रकरणमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरुले बेग्लाबेग्लै धारणा सार्वजनिक गरेर विवाद थप उत्कर्षमा पुर्याएका थिए । भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच दोहोरी चलिरहेको थियो ।
नागरिकबाट

Logo