सरकारद्वारा एकैपटक देशभरका ३ सय ९६ स्थानिय तहमा अस्पताल भवनको शिलान्यास

सरकारद्वारा एकैपटक देशभरका ३ सय ९६ स्थानिय तहमा अस्पताल भवनको शिलान्यास


काठमाडौं ।

सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शैयाको अस्पताल बनाउन लागेको हो ।

यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावारी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशका ३ सय ९६ स्थानीय तहमा एकैसाथ ५ शैया, १० शैया र १५ शैयाका पालिकास्तरका आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको बताए । यस्तै सात वटा प्रदेशमा ५०÷५० शैयाका सरुवारोग अस्पतालहरुको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताए ।

पालिकास्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिस्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताए । यस्तै सातवटै प्रदेशमा निर्माण हुने सरुवारोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, बागमती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।

Logo