कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने सरकारकाे आँकलन

कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने सरकारकाे आँकलन


काठमाडौं ।

सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ।

‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ ? त्यो खोप कति महँगो हुन्छ ? त्यसका आधारमा पनि बजेट भर पर्छ।’ प्रवक्ता गौतमका अनुसार अमेरिका, बेलायत, चीन, रुस लगायत मुलुकमा परीक्षण भइरहेका खोपमध्ये प्रभावकारिता र गुणस्तरका आधारमा खरिद गरिनेछ।

निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकायका साथै विकास साझेदारको पनि सहयोग लिने योजना छ। ‘सम्बन्धित मुलुकको सरकारसँग समन्वय गर्ने र नेपालमा उपलब्ध गराइने आर्थिक सहयोगको केही प्रतिशत खोपलाई छुट्ट्याइदिन आग्रह गर्नुपर्ने हो कि ? विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौं’, प्रवक्ता गौतमले भने।

खोप प्रभावकारी रहेको पुष्टि हुने बित्तिकै नेपाल ल्याउन सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपविज्ञ डा. श्यामराज उप्रेतीको नेतृत्वमा गठित विज्ञ समितिले परामर्श गरिरहेको छ। अहिले दर्जनभन्दा बढी खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन्।अन्नपूर्णबाट

Logo