धनगढी

गौरा पर्व मनाइने प्रदेश नं ७ का गौरा घर र मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । "/>

आज गौरा पर्व : धार्मिक अनुष्ठानका साथ मनाईंदै

आज गौरा पर्व : धार्मिक अनुष्ठानका साथ मनाईंदै


धनगढी

गौरा पर्व मनाइने प्रदेश नं ७ का गौरा घर र मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । यो पर्व मनाउन व्रतालु महिलाले धान, साउँ, कुस, तील लगायतका बोटबिरुवा प्रयोग गरी तयार पारेको गौरा भगवतीको प्रतिमालाई धार्मिक अनुष्ठानका साथ आज गौरा भित्र्याएका हुन् । व्रतालु महिला सामूहिकरुपमा घर नजिकको खेतमा गई ‘फाग’ लगायतका गीत गाउँदै यो प्रतिमा तयार गर्दछन् ।

गौरा भित्र्याई सकेपछि व्रतालु महिलाले गौरी भगवती र महेश्वर (शिव) भगवानको पूजाअर्चना गर्ने गर्दछन् । पूजामा विशेषगरी व्रतालु महिलाको सहभागिता हुन्छ । यसरी पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँचथरीका गोडागुडी) को विशेष महत्व रहेको छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रहेको स्थानीय चेतराज भट्ट बताउँछन् । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेट सम्बन्धी रोग निको हुने जनविश्वास समेत रहेको छ ।

यसअघि भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा पाँचथरीको गेडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राख्ने गरिन्छ । भिजाइएको बिरुडालाई नजिकको नदी, तलाउ तथा धारामा लगेर धुने विभिन्न ‘फाग’ सहित पूजा गर्ने चलन रहिआएको छ । आज नदी, तलाउ तथा धारमा यसरी मनाइने गौरालाई स्थानीय भाषामा ‘नानी गौरा’ र ‘नो’ लाई गौरा भन्ने चलन छ ।

गौरा भित्र्याइएसँगै धनगढीको वनदेवी मन्दिर, नैनादेवी मन्दिर, शिवपुरीधाम लगायत मन्दिरका साथै गौरा घरमा गौरा भगवती र महेश्वर (शिव) को पूजा गर्ने महिलाको घुइँचो लागेको छ । पूजाको काम सकिएपछि हरेक दिन महिला–पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी र देउडा खेल खेलेर रमाइलो गर्ने गर्दछन् । यी खेलहरुमा देवीदेवताका गाथा एवं प्रशस्तिसँगै वीर पुरुषहरुको योगदान सम्बन्धी इतिहास समेट्ने गरिएको पाइन्छ ।

पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिका रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेला देखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको पनि अर्को भनाइ रहेको छ ।

यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्ट कूल देवता खुशी हुने विश्वास गरिन्छ । गौरा पर्वका अवसरमा राष्ट्रिय लोकदोहरी प्रतिष्ठनको पहलमा यहाँ गौरा पर्व महोत्सव शुरु भएको छ । गौरा पर्वका अवसरमा सरकारले सोमबार प्रदेश नं ७ मा सार्वजनिक बिदा दिएको छ ।
रासस

Logo