काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली जनतालाई सेवा दिनु भन्दा आफ्नै सुविधा वृद्धितर्फ केन्द्रित भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग असन्तुष्ट भएका छन् । "/>

स्थानीय सरकारका एक वर्ष : कामबाट प्रधानमन्त्री असन्तुष्ट

स्थानीय सरकारका एक वर्ष : कामबाट प्रधानमन्त्री असन्तुष्ट


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली जनतालाई सेवा दिनु भन्दा आफ्नै सुविधा वृद्धितर्फ केन्द्रित भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग असन्तुष्ट भएका छन् । प्रधानमन्त्री ओलीले संविधानले थुप्रै अधिकार स्थानीय तहलाई दिएको अवस्थामा जनप्रतिनिधि भने विकास र जनतालाई प्रभावकारी सेवा दिनुको सट्टा आफ्नै सुविधा बढाउनेतर्फ लाग्नु गलत भएको बताए ।

स्थानीय तहका जनप्रतिनिधिहरूका गतिविधि, आचरण र मनलागी करवृद्धिको विषयलाई लिएर नागरिक स्तरबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले समेत उनीहरूको कामप्रति असन्तुष्टि जनाएका हुन् । स्थानीय तह निर्वाचनपछि विकास–निर्माणले गति लिने, भ्रष्टाचार नियन्त्रण हुने, सार्वजनिक सेवा प्रभावकारी हुने जनअपेक्षा विपरीत पछिल्लो समय जनप्रतिनिधि अनावश्यक क्षेत्रमा कर लगाउने, स्रोतसाधन र गाडी खरिद, बैठक भत्ता, विदेश भ्रमणमा खर्च गर्नेतर्फ केन्द्रित भएका छन् । स्थानीय सरकारका प्रतिनिधिले जनतालाई अनावश्यक कर थोपर्ने र आफ्ना लागि महँगा गाडी खरिद गर्दा संघीय सरकार समेत अप्ठेरोमा परेको छ ।

गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिसँग बिहीबार सिंहदरबारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तह र जनप्रतिनिधिका गतिविधि प्रति खुलेरै असन्तुष्टि पोखे । ‘कतिपय ठाउँमा मेयर,उपमेयर,अध्यक्ष, उपाध्यक्षले महँगा गाडी किनेको, कतिपय वडाध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएको गुनासा आएका छन् ,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु जनप्रतिनिधि हो । त्यसकारण जनताले नरुचाउने काम नगर्नुस् । जनताले जे रुचाउँछन्, जनचाहना जे छ सोही अनुरुप आफूलाई बदल्नुस् ।’ विकास–निर्माणका लागि छुट्याएको बजेट अधिकांश स्थानीय तहका जनप्रतिनिधिले दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, सहज ढंगले जनताको काम नभएको जस्ता गुनासा धेरै आएकाले यस विषयमा गम्भीर हुन समेत जनप्रतिनिधिहरुलाई आग्रह गरे । स्थानीय तहको निर्वाचन भएको वर्ष दिन बितिसक्दा पनि पूर्वाधार विकास र सेवा प्रवाहमा सुधार हुनुको सट्टा झन् समस्या बढ्दै गएका छन् ।
नागरिकबाट

Logo