टेलिकमले सुरु गर्यो एफटीटीएच–फाइबर टु होम सेवा

टेलिकमले सुरु गर्यो एफटीटीएच–फाइबर टु होम सेवा


नेपाल टेलिकमले भ्वाइस टेलिफोन सेवा प्रदान गर्न सुरु गरेको छ। टेलिकमले वितरण गरिरहेको एफटीटीएच–फाइबर टु होम सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस सेवा कम्पनीको नेटवर्कभित्र ३ महिनाको लागि निशुल्क गरिएको टेलिकमले जनाएको छ।

प्रवर्दन अफरको रुपमा साउन १० गतेदेखि ३ महिनाको लागि कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमले जनाएको छ । आईपी वेस्ड प्रविधिअन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथसाथै सोही फाइबरबाट भ्वाइस सेवासमेत उपलब्ध हुने बिज्ञप्तीमा उल्लेख छ।

यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिनेछ। हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ र बाँकी स्थानमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमको भनाई छ। 

हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका बाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । कम्पनीले एफटीटीएच सेवा बृहत् रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पुर्याई सेवा प्रदान गर्न सकिने भएकाले यो सेवा प्रभावकारी हुने अपेक्षा छ।

ग्राहक माझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफरअन्तर्गत विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महशुलमा सेवा उपलब्ध गराइएको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक–फरक महशुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

Logo