१४ माघ २०७८ शुक्रबार

अन्तर्राष्ट्रिय महिला नेत्रहिन क्रिकेटमा पनि सफलता : एक खेल अगावै नेपाललाई सिरिज

काठमाडौँ

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले एक खेल अगावै सिरिज जित्न सफल भएको छ । घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० क्रिकेट सिरिज अन्तर्गत आइतवार भएको चौथो खेलमा पाकिस्तानलाई नौ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।

पाकिस्तानको इस्लामावादमा पाकिस्तानले दिएको १०२ रनको लक्ष्य नेपालले आठ ओभर पाँच बलमा मात्र एक विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि विमला राईले ४२ र मन केसी चौधरीले नटआउट २५ तथा मुना अर्यालले २२ रनको योगदान गरेका थिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन जोडेको थियो । नेपालकी विमला राई म्यान अफ दि म्याचर घोषित हुँदै पाकिस्तानी १५ हजार प्राप्त गरिन् ।

सिरिज अन्तर्गत नेपालले पहिलो र तेस्रो खेलमा १० विकेटको जित निकालेको थियो । दोस्रो खेल भने वर्षाको कारण रद्द भएको थियो । अब नेपालले घरेलु टोलीविरुद्ध सोमबार (आज ) अन्तिम तथा पाँचौँ खेल खेल्ने छ ।

नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको सिरिज खेल्न माघ १२ गते त्यसतर्फ गएको हो ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् । पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाईं, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री र भूमा खरेल रहेका छन् ।

प्रकाशित: २१ माघ २०७५ ०७:१८ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी