न्युयोर्क । यसपल्टको विश्वकप फुटबल धेरै अर्थमा ठूलो छ, विशषतः सहभागी हुनेको संख्या ४८ पुगेको आधारमा । यस्तोमा यसपल्ट तीन आयोजकका १६ रंगशालामा कीर्तिमान १ सय ४ खेल हुनेछन् । अनि प्रतियोगिता आफैं ३९ दिन चल्नेछ ।
सहभागी हुने टिमको संख्या ३२ बाट ४८ पुगेपछि अमेरिका, क्यानाडा र मेक्सिकोमा पहिलो पटक विश्वकप हुँदैछ । लिग चरणमै यसपल्ट चार समूह थपिएका छन् अनि नकआउट चरणमै ३२ टिम पुग्नेछन् । पछिल्लो पटक विश्वकपमा सहभागी हुनेको संख्या सन् १९९८ मा बढाइएको थियो । त्यस अर्थमा विश्वकपका पछिल्ला सात संस्करण ३२ टिमले प्रतिस्पर्धा गरे । खेल भएको थियो ६४ । सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेयता एकैपल्ट धेरै देशले विश्वकप आयोजना गर्न लागेको हो ।
अमेरिकामा मात्रै ११ खेलस्थल हुनेछ । मेक्सिकोमा तीन र क्यानडामा दुई । मेक्सिकोको भागमा १३ खेल परेको छ, त्यसमा मेक्सिको सिटीमै हुने उद्घाटन खेल पनि छ । त्यसमा आयोजक देश मेक्सिको र दक्षिण अफ्रिका भिड्दै छन्, जुन ११ को दिन । मेक्सिकोमा तीन नटआउट चरणमा खेल पनि हुनेछ । क्यानडाले भने १३ खेलमा आतिथ्यता गर्नेछ । त्यसमध्ये जुन १२ मा आयोजक देशले बोस्निया हर्जगोभिनाको सामना गर्नेछ र खेल हुनेछ टोरन्टोमा । क्यानडामा तीन नकआउट चरणका खेल पनि हुनेछ ।
बाँकी सबै ७८ खेल अमेरिकामा हुनेछ । जुन १२ मा अमेरिकाले लस एन्जलसमा हुने खेलमा पाराग्वेविरुद्ध भिड्ने छ । अमेरिकामा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल चरणका खेल पनि हुनेछ । उपाधिको भिडन्त हुनेछ, न्यु जर्सीको मेटलाइफ स्टेडियममा । २०२६ को विश्वकप र प्रतियोगिताको इतिहास अंकको आधारमा कस्तो छ, अब त्यसतर्फ एक नजर लगाउने छौं ।
अबको विश्वकपमा कीर्तिमान १ हजार २ सय ४८ खेलाडी सहभागी हुनेछन् । यी खेलाडी ७१ देशका ४ सय ४९ क्लबबाट छन् । त्यसमध्ये ३ सय ५७ खेलाडीले यसअघि पनि विश्वकप खेलिसके, अनि ८ सय ९१ ले भने पहिलो पटक विश्वकप खेल्दै छन् । इंग्ल्यान्डका लिगमा खेल्ने २ सय खेलाडी अबको विश्वकपमा हुनेछन् । जर्मन लिग दोस्रो स्थानमा छ, १ सय ९ खेलाडीसहित ।
त्यसपछि फ्रान्स–स्पेनको लिगमा खेलिरहेका समान ८६, इटालीका ७१ र साउदी अरेबियाका ४९ खेलाडी । अमेरिकाको आफ्नै मेजर लिग सकर (एमएलएस) का ४४ खेलाडीले विश्वकप खेल्नेछन् । १ सय ३ खेलाडीले कुनै न कुनै समय एमएलएस खेलेका छन् । इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीका कीर्तिमान १९ खेलाडीले अबको विश्वकप खेल्नेछन् । त्यसपछि च्याम्पियन्स लिगको फाइनल खेलेका पेरिस सेन्ट जर्मेन (पीएसजी) र आर्सनलका समान १६ खेलाडी हुनेछन् । बार्सिलोनाका १५ खेलाडीले पनि विश्वकप खेल्नेछन् ।
पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो प्रतियोगिताकै सबैभन्दा अनुभवी खेलाडी हुन्, २ सय २६ क्यापसहित । यो पुरुष फुटबलको इतिहासमा कोही पनि खेलाडीले आफ्नो देशका लागि खेलेको सबैभन्दा बढी हो । उनीसँगै अर्जेन्टिनाका लियानल मेसीले छैटौंपल्ट विश्वकप खेल्दैछन् । रोनाल्डो यसअघिका पाँच विश्वकपमा गोल गर्ने एक्लो खेलाडी हुन् । उनले २२ खेलमा ८ गोल गरेका छन् ।
मेसी भने विश्वकपमा सबैभन्दा बढी २६ खेल खेल्ने खेलाडी हुन् । उनलाई आफ्नो देशका दुई सय क्याप जित्न दुई खेल मात्र आवश्यक छ । अन्तर्राष्ट्रिय फुटबलमा दुई सयभन्दा बढी क्याप जित्नेमा कुवेतका बाडेर अल मुतवा पनि छन् । क्रोएसियाका लुका मोड्रिच पनि दुई समयको जादुयी आँकडा छुनबाट तीन खेलले मात्र टाढा छन् । मेक्सिकोका गुइलेर्मो ओचाओ २००६ र २०१० लाई छाडेर चौथो विश्वकप खेल्दैछन् ।
मिरोस्लाभ क्लोजको नाममा छ, सर्वाधिक गोलको कीर्तिमान । यी जर्मन खेलाडीले १६ गोल गरेका छन् । यसपल्ट यो कीर्तिमान भंग हुने सम्भावना बढी छ, किनभने मेसीले विश्वकपमा १३ गोल गरिसकेका छन् । ब्राजिलका रोनाल्डोले १५, गर्ड मुलरले १४ र फ्रान्सका केलियन एमबाप्पेले १२ गोल गरिसकेका छन् ।
अहिलेम्म विश्वकप जित्ने टिमको संख्या आठ मात्र रहेको छ । त्यसमध्ये ६ टिमले एकभन्दा बढी अवसरमा विश्वकप जितेको छ । ब्राजिल यो सूचीमा सबैभन्दा अगाडि छ, उसले पाँचपल्ट विश्वकप जितेको छ । पछिल्ला ११ संस्करणको विश्वकपमा पहिलो पटक उपाधि जित्ने दुई टिम मात्र छन्, जतिबेला फ्रान्सले १९९८ र स्पेनले २०१० मा विश्वकप जितेको थियो ।
जम्माजम्मी दुई देशले मात्र लगातार दुई पटक विश्वकप जितेको छ । त्यसमा पेलेको ब्राजिलले १९५८ र १९६२ मा विश्वकप जितेको थियो । इटालीले यसअघि १९३४ र १९३८ मा विश्वकप लगातार जितेको थियो । डिफेन्डिङ च्याम्पियनका रूपमा तीन टिमले लगातार दुईपल्ट विश्वकप फाइनल त खेल्यो, तर उपाधिको भने रक्षा गर्न सकेन । त्यसमध्ये पछिल्लो विश्वकपमै फ्रान्स दोहोर्याएर फाइनल त पुग्यो, तर अर्जेन्टिनासँग पराजित रह्यो ।
डिफेन्डिङ च्याम्पियनका रूपमा ६ त्यस्ता अभाग्यशाली टिम रहे, जसले पछि समूह चरण पनि काट्न सकेनन् । त्यसमध्ये पछिल्ला चार संस्करणमा तीनपल्ट यस्तो घटना भएको छ । २०१० मा इटाली, २०१४ मा स्पेन र सन् २०१८ मा जर्मनी पहिलो चरणबाटै बाहिरिए र तिनीहरू नकआउट चरण पुग्नु अगाडि नै घर फर्किन बाध्य रहे । सन् २०२२ मा भने फ्रान्स फाइनल नै पुगेको थियो ।
फ्रान्स लगातार तेस्रोपल्ट विश्वकप फाइनल पुग्ने तेस्रो टिम हुने प्रयासमा हुनेछ । २०१८ को विजेता फ्रान्सले २०२२ मा पनि उपाधिको भिडन्तसम्म यात्रा तय गरेको थियो । पश्चिम जर्मनी १९८२ र १९८६ को विश्वकप फाइनलमा हारेपछि १९९० मा अर्जेन्टिनालाई पराजित गरेर च्याम्पियन हुन सफल रहेको थियो ।
ब्राजिल सन् १९३० यता सबै २३ विश्वकपमा सहभागी हुने एक मात्र टिम रहेको छ । ब्राजिलले अहिलेसम्म सबैभन्दा बढी ७६ खेल जितेको छ भने २ सय ३७ गोल गरेको छ । त्यसपछि जर्मनीले २१ पल्ट विश्वकप खेलेको छ भने २ सय ३२ गोल गरेको छ । त्यसमध्ये दसपल्टको विश्वकप सहभागिता भने पश्चिम जर्मनीको रूपमा छ ।
यसपल्ट चार देशले विश्वकपमा डेब्यु गर्दै छन् । त्यसमा केप भार्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तान छन् । यी चार टिमसँगै विश्वकपमा अहिलेसम्म सहभागिता जनाउने टिम संख्या (देश) ८४ पुग्नेछ ।
इजिप्टको नाममा भने विश्वकपका सात खेलेर पनि एउटै खेल जित्न असफल रहेको दुर्भाग्यशाली इतिहास छ । यी सात खेलमा ५ बराबरी र २ हार रहेको छ । यसपल्टको उसको पहिलो खेल बेल्जियमविरुद्ध छ । होन्डुरसले विश्वकपका नौ खेल खेलेर पनि एउटै जित्न सकेको छैन । होन्डुरस त यसपल्ट विश्वकपमै छनोट हुन सकेन ।
अहिलेसम्म २२ विश्वकपका ९ सय ६४ खेलमा २ हजार ७ सय २० गोल भएको छ । कतारमा सन् २०२२ को पछिल्लो विश्वकपमा भने ४० खेलमा १ सय ७२ गोल भएको थियो । यसपल्ट यो प्रदर्शन भंग हुने पूरा सम्भावना छ ।
यसपल्टको विश्वकपमा सबैभन्दा पाका र कान्छा खेलाडीबीच २५ वर्षभन्दा बढीको अन्तर छ । जतिबेला विश्वकप सुरु हुनेछ, त्यतिबेला स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन ४३ वर्ष १ सय ६२ दिनका हुने छन् । मेक्सिकोका गिल्बर्टो मोरा भने १७ वर्ष २ सय ४० दिनका मात्र हुनेछन् । स्रोतः एपी





























प्रतिक्रिया