फिफा विश्वकप २०२६ः के-के बन्दैछन् रेकर्ड ?

फिफा विश्वकप २०२६ः के-के बन्दैछन् रेकर्ड ?


काठमाडौं । तपाईंलाई थाहा छ, अबकाे दुई दिनमा सुरु हुने फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा उत्रँदै छन् । क्यानडा–मेक्सिको–अमेरिकामा सुरु हुने ३९ दिने फुटबलको महामेलामा ४८ राष्ट्रहरुले एकअर्काविरुद्ध १०४ खेल खेल्दै उपाधिमा आफ्नो हक दाबी गर्नेछन् ।

त्यति मात्र होइन यसपटकको विश्वकपमा ८९१ जना खेलाडीले पहिलो पटक विश्वकपको मैदानमा आफ्नो कौशल देखाउँदै छन् भने ३५७ जना खेलाडीले भने यसअघिका संस्करणहरुमा पनि आफ्नो जादु देखाइसकेका छन् । तीमध्ये २२ जनाले त झन फिफा विश्वकपको ट्रफी नै उचालिसकेका छन् । जहाँ सन् २०२२ मा अर्जेन्टिनाका लागि उपाधि जिताउन महत्वपूर्ण हात रहेका कप्तान लियोनल मेसीदेखि सन् २०१८ मा फ्रान्सका लागि निर्णायक बनेका स्टार किलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानसम्म रहेका छन् ।

यस विश्वकप खैल्ने सबैभन्दा पाका खेलाडी स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन बन्ने भएका छन् । हाल ४३ वर्ष ५ महिनाका गोर्डन सन् २०२२ मा भने हर्टअट्याकका कारण टोलीमा परेका थिएनन् । गोर्डन मात्र होइन, यस पटकको विश्वकपमा ४० वर्ष कटेका क्रिस्टियानो रोनाल्डोसहित ७ जना खेलाडी खेल्दै छन् ।

विश्वकपमा मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा विश्वकप इतिहासकै सबैभन्दा कान्छा खेलाडीमध्ये एक बनेका छन् । सन् २००८ अक्टोबरमा जन्मेका मोराले ‘क्लब तिजुआना’बाट १६ वर्षकै उमेरमा मेक्सिकन लिगमा डेब्यु गरेका थिए । त्यति मात्र होइन यस पटकको विश्वकपमा २० वर्षभन्दा कम उमेरका २२ खेलाडी मैदानमा उत्रने छन् जहाँ स्पेनका १८ वर्षीय लामिन यमल र ब्राजिलका १९ वर्षीय एन्द्रिक पनि सामेल छन् ।

यस पटकको विश्वकपमा ४ वटा राष्ट्रहरुले डेब्यु गर्ने भएका छन् । अघिल्लो संस्करणमा भएका ३२ राष्ट्रको कोटालाई बढाइएर ४८ राष्ट्र पुर्याएपछि केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानलगायत राष्ट्रहरुले पनि पहिलो पटक मौका पाएका हुन् ।

फिफाको तथ्याङ्क अनुसार, १२ सय ४८ खेलाडी विश्वका ७१ विभिन्न देशमा अवस्थित ४४९ फरक–फरक क्लबबाट छानिएका छन् । जसमा सबैभन्दा धेरै खेलाडी इङ्ग्लिस प्रिमियर लिगबाट आएका छन् भने म्यानचेस्टर सिटी एक्लैले १६ जना खेलाडी पठाएर ‘सबैभन्दा बढी प्रतिनिधित्व हुने क्लब’को ताज पहिरेको छ । त्यस्तै बार्सिलोनाबाट १४, बायर्न म्युनिखबाट १३, पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट १२ र रियल म्याड्रिडबाट ११ जना खेलाडीहरुले यस पटकको विश्वकप खेल्ने भएका छन् ।

अझै रोचक तथ्य त के छ भने, यसपटक कतार र साउदी अरब जस्ता राष्ट्रका प्रायः सम्पूर्ण खेलाडी स्वदेशी लिगबाटै आएका छन् । कतारको अल–साद र अल–दुहाइल तथा साउदीको अल–हिलाल र अल–नासर क्लबमा केन्द्रित यी टोलीहरूले स्वदेशी प्रतियोगिताको बलियो जग देखाएका छन् । यसको ठीक विपरीत, सेनेगल, केप भर्डे र उरुग्वेजस्ता देशका सबै खेलाडी विदेशी लिगमा व्यावसायिक फुटबल खेल्दै आएका छन् । त्यस्तै सेनेगलको पूरै टोली युरोपका पाँच प्रमुख लिगमा छरिएका छन् भने उरुग्वेका २६ खेलाडी इटाली, स्पेन, ब्राजिललगायतका लिगमा खेल्दै आएका छन् ।

यस पटक प्रशिक्षकका रूपमा लगातार पाँचौँ विश्वकपमा सहभागिता जनाउने गौरव घानाका कार्लोस क्विरोजले हासिल गरेका छन् । यसअघि बोरा मिलुटिनोभिकले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए । यसअघि सन् २०१० मा पोर्चुगल र सन् २०१४, २०१८ र २२ मा गरी फरक फरक महादेशबाट आफ्नो टोलीलाई विश्वकपमा छनौट गरिसकेका कार्लोसले यस पटक भने घानासँग जोडिएर उक्त उपलब्धी हासिल गरेका हुन् ।

र अन्त्यमा फिफाको नियम अनुसार, यस पटक कुनै पनि टोलीले आफ्नो पहिलो खेल सुरु हुनुभन्दा २४ घण्टा अगाडिसम्म गम्भीर चोट वा स्वास्थ्य कारणले खेलाडी फेरबदल गर्न सक्ने भएका छन् । तर त्यसका लागि घाइते खेलाडीको ठाउँमा बोलाइने अर्को खेलाडी पहिलेदेखि नै विस्तारित सूचीमा भएको हुनुपर्ने प्रावधान राखेको छ ।

Logo