लालबाबु पण्डित को हुन् ?

लालबाबु पण्डित को हुन् ?


नरेन्द्रराज प्रसाईं ।


निष्पक्ष चुनाव
अति विकशित राष्ट्रमा पनि बेलाबखत चुनाव त्यति सफल नभएको पनि देखिंदो छ । यस हिसाबमा नेपालको चुनावको सत्य परिभाषा हुन सक्छ र ? चुनावकै प्रसङ्गमा गणेशमान सिंहले सबैभन्दा धेरै साक्षर र बुद्धिजिवी बस्ने काठमाडौंका जनतालाई नै पनि भेडा भनेका थिए ।

केका लागि चुनाव ?
मलाई पनि नेपालको वर्तमान चुनावको त्यति सारो विश्वास भएन । भनौं ईश्र्या, डाहा, स्वार्थ, षड्यन्त्र र नोट विनाको चुनाव भएको जस्तो मलाई त लागेन । साँच्चैको प्रतिनिधि छान्ने निर्वाचनको विकास भएपछि हेरौंला ! तर हालसम्म चाहिं निर्णायक मत अर्कैद्वारा, अर्कैका लागि र अर्कै किसिमले भइरहेको पनि देखियो । देश निर्माण र जन रक्षाका लागि निष्पक्ष चुनाव हुने समय पनि आउला नैस कुर्दै जाउँ !

नानीमैया प्रकरण
यस पल्टको चुनावमा एकले अर्कातिर रिस फेरेको पनि देखियो । उदाहरणका लागि पञ्चायती विरूद्धमा नानीमैया दाहाललाई पनि माननीय बनाइएको थियो । हाम्रो नेपालका सन्दर्भमा चुनाव भनेको बौद्धिक मतभन्दा हाहा र हुहूको गतिलो लस्कर पनि हो भन्ने बेहोरा त्यसै बेलादेखि बुझिँदै आएको छ ।

धनी र गरिवको चुनाव
यस पल्टको चुनावको मज्जा के हो भने साइकल चढ्नेले पजेरो चड्नेलाई पानी पित्त छदाई दिए । सुटबुट नलगाउने, सेन्ट नदल्ने र कपाल नरङ्गाउने अथवा चप्पल लगाउनेलाई पनि जनप्रेम गरिँदो रहेछ भन्ने पनि जानकारी प्राप्त भयो । यस चुनावबाट मैले के बुझें भने केही नेपालीलाई वाद, दल, जाति, लिङ्ग र ठाउँको पनि अर्थ रहेन रहेछ । नेपाली जनताको चाहना केवल इमानदार, नैतिक, विकासवादी अर्थात् निष्ठावादी राजनीतिज्ञको रहेछ । जुन कुराको सजिलो नेपाली पाठ मनका कुवेर लालबाबु पण्डितले धनका कुवेरलाई घोकाई दिए ।

काङ्ग्रेसी खडेरी र रोहित
यसपालीको चुनावमा अर्को हाँस उठ्तो कुरा के देखियो भने प्रधानमन्त्री शेरबहादुर देउपाकी विश्वासपात्र आरजु राणालाई पनि देउपाले उम्मेद्वार बनाई दिए ! यी जोईपोइले नेपालमा काङ्ग्रेसका नेताको अनिकाल लागेछ भन्ने विश्व सामु नै दयालाग्दो प्रमाणीकरण गरिदिए । ने.का.ले ने.म.कि.पा. या नारायणमान विजुक्छें ’रोहित’सँग ट्युशन नपढेकाले देशमा यत्रो जात्रा देखायो भन्ने पनि सुनियो ।

माकुने र केपीको राष्ट्रवाद र नेकाको बैतर्नी
एकातिर माधवकुमार नेपाल शालीन, इमानदार र भद्र देशभक्त अर्कातिर खड्गप्रसाद ओलीको राष्ट्रियताप्रतिको चर्को समर्पण देखिनु अनि नेपाली काङ्ग्रेसको जनद्रोही, राजद्रोही र अन्तर्घातका कारणले पनि यो निर्वाचनमा जनताले ने.का.को बैतर्नी नै गरिदिएका हुन् ।

काङ्ग्रेस र राजसंस्था
नेपालमा काङ्ग्रेसले राजनीतिमा वर्चस्व नै कायम गरेको थियो । तर चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भने झैँ ने.का. ले आफ्नो जन्मजात राजसंस्था मान्ने सिद्धान्तलाई माओवादी र एमालेका पाउमा चढाई दियो । भारतमा पुगेर १२ वुँदे सहमति गरेको मीठो फल ने.का.ले चाख्न पाइरहेकै छ । आखिर ने.का.ले सौताको रीसले पोइको नाक काट्यो । भारतले न त गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाई दियो न त काङ्ग्रेसले भारतकै हवल्दारी छाड्न पनि सक्यो ! अब काङ्ग्रेसले आफ्नो मती सपारेन भने पचासौं वर्षमा पनि उसले आफ्नो खोलो फर्काउन गाह्रै पर्छ । ने.का.ले वी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आत्मासँग क्षमा मागेर गिरिजाबाबुलाई धिक्कार्दै १२ बुँदे समर्थन फिर्ता गरेन भने काङ्ग्रेसको मौजुद अस्तित्व नै पनि समाप्त हुने लक्षण देखा परिसकेको छ ।

डा.कोइराला र ने.का.
अबका दिनमा काङ्ग्रेसले नेपालवादी अनि भारत, चीन र त्यसभन्दा परका देशको अवस्था र व्यवस्था राम्ररी बुझ्न सक्ने खुबी भएका प्रा.डा. शशाङ्क कोइरालाहरूको नेतृत्वको कदर गर्यो भने त्यहाँ थुप्रै अन्य नेपालवादीहरू पनि अटाउन सक्लान् कि भन्ने टिप्पणी पनि सुन्नमा आइरहेकै छ । काङ्ग्रेस पार्टीलाई स्वर्गमा लाने हो या नर्कमा जाक्ने हो ? यस विषयमा पनि काङ्ग्रेसले नै मात्र सोच्ने हो । यसबारे अरूलाई बोल्ने अधिकारै छैन ।

देप्र त्रिपाठीको आगो बोली
नेपाली काङ्ग्रेस कसरी बैता लाग्यो र लाग्दैछ ? अनि मुलुकको विगत र चुनावी अवस्थाबारेको आगो ओकलिएको साक्षात धारणा नेपाली काङ्ग्रेसका वफादार चिन्तक तथा सुप्रसिद्ध पत्रकार देवप्रकाश त्रिपाठीले बोलेको देखियो, सुनियो । भिडियोको प्रस्तुत लिङ्क रिट्ठो नबिराई हेरे हुन्छ ।

राजा, राप्रपा र कमल थापा
हिन्दू अधिराज्यको एजेन्डा बोकेर हिंडेवापत सनातन हिन्दू धर्मका शत्रु र राजद्रोहीहरू खप्टिएर राप्रपालाई निमिट्यान्न पार्न खोजिएको पनि देखियो । हिन्दुत्वको अस्तित्व नै समाप्त पार्न र राजावादीहरूलाई मुन्टो उठाउन नदिन देशविदेशबाटै शक्तिको परिचालन भएको छ । तर कमल थापाहरू आफ्नै माटोको टीका लगाएर सधैं रणभूमिमा समर्पित भइरहे । मातृभूमिको रक्षार्थ कमल थापाहरू यसरी नै एकोहोरो लागिरहे भने एक दिन सग्लो राष्ट्रियताको दिग्विजय हुन सक्छ । यदि होइन भने मुलुक क्रमश ः लिलाम हुनेतिर नै बामे सरिरहेको अवस्थामा रहेको टड्कारो प्रमाण हामी माझ छँदैछ ।

सङ्घीयताको खारेजी
यस सङ्घीयतालाई नेपालले धान्न पनि सक्तैन । चाँडोभन्दा चाँडो सङ्घीयताको खारेजी भएन भने पाँच वर्षभित्रै भौगोलिक, राजनैतिक र आर्थिक विषयक वाह्य र भित्री खतरा या आक्रमण हुन सक्छ र पुन नयाँ राजनीतिक घटना उदय हुन सक्ने सम्भावना छ ।

लालबाबु पण्डित र पहाडे
पदमा गएर पनि राम्रो काम गर्न सकिदो रहेछ भन्ने प्रमाण लालबाबु पण्डितले दिए । उनी मधेशी थिए होलान् तर त्यो कसैले चाल पाएनन् । किनभने उनले सधैं नेपाल, नेपाल र नेपाल भनेर गीत गाए । त्यसैले सारा पहाडे पनि उनका पछिपछि लागे । वास्तवमा राम्रो मान्छे हुन पहाडे या मधिसे हुनु पर्दैन रहेछ । त्यसैले एउटै लालबाबु पण्डितले विजय हाँसिल गर्दा मात्र पनि यस पल्टको निर्वाचनले मलाई समेत पनि गौरवीवोध गराई दिएको छ ।

लालबाबु पण्डितलाई बधाई
सादा जीवन उच्च विचारका लखपति आदरणीय लालबाबु पण्डितलाई मेरी पुरोधिका इन्दिरा प्रसाईका तर्फबाट समेत म हृदयदेखि बधाई टक्र्याउँदछु ।

 

लेखक (आधुनिक मोतिराम भनेर चिनिने साहित्यकार नरेन्द्रराज प्रसाईं)

Logo