धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज (शनिबार) महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया प्रतिस्पर्धा गर्दैछन् ।
खेलाडी प्रतिबन्ध गरेको भन्दै दोस्रो क्वालिफायर्स खेल्न काठमाडौं गोल्डेन्सले बहिस्कार गरेपछि फाइनलमा पुगेको महेन्द्रनगर फाइनल पुगेको हो। जारी प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको अत्तरीयाले फाइनल पुग्दासम्म एक खेलमात्र हारेको छ । यता महेन्द्रनगरले लिग चरणमा दुई खेल हारेको थियो । तर एलिमिनेटर्समा रुपन्देहीलाई एक रनको रोमाञ्चक जित निकाल्दै क्वालिफायर्समा पुगेको हो ।
महेन्द्रनगरको कप्तानी राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले गरिरहेका छन् भने अत्तरियाको नेतृत्व युवा स्टार दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । दुबै टिमका कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन ।
सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिगको विजेताले ३० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १२ लाख प्राप्त गर्नेछ ।
प्रकाशित: ११ फागुन २०७५ १२:१६ शनिबार