महाकवि देवकोटाका यी दुई चर्चित कवितामा के छ त्यस्तो ?

महाकवि देवकोटाका यी दुई चर्चित कवितामा के छ त्यस्तो ?


केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २ कार्तिक । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नेपाली साहित्यजगतका अग्रज तथा महान व्यक्तित्व देवकोटाको जन्म आज लक्ष्मीपूजाको दिन भएकाले नै उनको नाम लक्ष्मीप्रसाद राखिएको हो ।

वि.सं. १९६६ कार्तिक कृष्ण औंसीका दिन तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी साइँला छोराका रूपमा जन्मेका देवकोटाले दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेको बताइन्छ।

महाकवि देवकोटाका दर्जनौ कृति अझै पनि उत्तिकै चर्चित छन् । देवकोटाले साहित्यका अधिकांश बिधामा कलम चलाएका छन् । मुनामदन सबै भन्दा मन पराइएका कृति हुन् । भारतका महापण्डित राहुल सांकृत्यायनले समेत देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको एउटै रूप भनी टिप्पणी गरेका थिए। नेपालका नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन र  प्रज्ञा–प्रतिष्ठानको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए। देवकोटाको क्यान्सरका कारण बिस २०१६ सालमा निधन भएको थियो ।

देवकोटाका चर्चित दुई कविता 

 

यात्री

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार
नसा-नदीका तरल तर, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार र
मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर
खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।

सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दुस्खको गानामा
दर्शन किन्तु कहिँ दिँदैन, चर्म चछुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा
फर्क फर्क हे १ जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।।

पागल

जरूर साथी म पागल
यस्तै छ मेरो हाल।
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बासनालाई संबाद लिन्छु।
आकाशभन्दा पातला कुरालाई छुन्छु।

ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन
म देख्दछु, ढुङ्गालाई फूल
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ एक किसिमका चकोर फूल

म बोल्दछु तिनीसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न।
जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा
साथी १ छाल छाल
जरुर साथी म पागल
यस्तै छ मेरो हाल
तिमी चतुर छौ, वाचाल

तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले
तिम्रो गिदी छ साथी
मेरो मुटु।

तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ
म तरल पद्य छु
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो

तिम्रो संसार ठोस छ।
मेरो बाफ
तिम्रो बाक्लो, मेरो पातलो
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई

मेरो छ वेग काँडाको साथी
तिम्रो सुनको र हीराको
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल।
जरुर साथी।
मेरो एक नशा ढिलो छ।
यस्तै छ मेरो हाल

Logo