एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई

एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई


पोखरा ।

पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण एनसेल बाह्रखरी गल्फ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।प्रतियोगिताका विजयी खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतले उपाधिसहित ट्रफी वितरण गरे।  

प्रतियोगिताको उपाधि नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले हात पारे। उनले ३५ स्कोर गर्दै सुनको बलसहित ट्रफी हात पार्न सफल भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरे । तीन जनामध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे । उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे। जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए ।

प्रतियोगितामा बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे। जसका लागि उनले २८ ग्रस प्वाइन्ट हासिल गरेका थिए । महिलातर्फको प्रतिस्पर्धामा रेखा घिमिरे २३ अङ्क प्राप्त गर्दै विजयी बनिन्। जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको प्रतिस्पर्धामा टेन्डी शेर्पा ३० अङ्कका साथ वियजी भएका थिए ।  

पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारेका थिए भने क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट ड्राइभको उपाधि जितेका थिए । चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगितामा सहभागी ७४ खेलाडी सफल हुन नसकेको सो प्रतियोगितामा क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पार्न सफल भए । चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन् । तर पनि क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनले होल इन गर्न ६ इञ्चको दूरी मात्र थियो ।

 सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्याका समाधानका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । प्रतियोगिताले पोखरा सुरक्षित र खुल्ला छ भन्ने सन्देश दिन सफल भएको उल्लेख गर्दै उनले कोरोना भाइरसको कारण थला परेको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको बताए।

मन्त्री ढकालले सरकारले सहजरुपमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन खुकुलो खालको नयाँ रणनीति तयार गरेको बताउँदै यसका लागि सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहने बताए।  

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले यस्ता प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रदेशमा हुने खेलकूद गतिविधिलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए। प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन रहेको छ । पोख्रेली पर्यटन व्यवसायी पर्यटनको स्वागतका लागि तयार रहेको उल्लेख गर्दै उनले आगामी गल्फ प्रतियोगिता हिमाल पारिको जिल्ला मुस्ताङमा गर्न आयोजकलाई अनुरोध गरे। मुख्यमन्त्री गुरुङले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनको सम्भावनालाई उत्कृष्ट बनाउन सफल भएको बताउँदै गल्फको आयोजना गरेको बाह्रखरी मिडियाले पोखराको पर्यटनमा नयाँ आयाम थपेको धारणा राखे ।  

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ग, बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेन्द्र आचार्य लगायतले गल्फ खेलको महत्व एवं पर्यटन क्षेत्रमा पुर्याउने योगदानका बारेमा चर्चा गरे ।  

Logo