चैतभित्र जिल्ला लिग सक्न एन्फाको निर्देशन

चैतभित्र जिल्ला लिग सक्न एन्फाको निर्देशन


अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो जिल्ला संघलाई चैतभित्र जिल्ला लिग सक्न निर्देशन दिएको छ । एन्फाले आफ्नो मातहतमा रहेको ४८ जिल्ला संघलाई पत्राचार गर्दै फागुनदेखि चैतभित्र जिल्ला लिग सक्न निर्देशन दिएको हो ।

“एन्फाको कार्यक्रम अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता–२०७७ एन्फामा आवद्द सबै ४८ जिल्ला संघहरुले फागुन र चैत महिनामा सञ्चालन गर्न निर्देशानुसार अनुरोध गरिन्छ”, पत्रमा भनिएको छ ।

एन्फाले जिल्ला लिग खेल्ने क्लबको संख्याबारे यसअघि नै संघलाई जानकारी गराएको थियो । यस्तै एन्फाले २०७६ सालमा जिल्ला लिग नभएका जिल्लाले आफ्नो जिल्लाको दैनिक पत्रिकामा १५ दिने सार्वजनिक सूचना निकाल्दै नकआउट प्रतियोगिता गरेर छनोट भएका क्लबलाई समावेश गरेर लिग गर्न निर्देशन दिएको छ ।

एन्फाले जिल्ला लिगमा जिल्ला प्रशासन कार्यालय, जिल्ला खेलकुद विकास समिति वा प्रचलित कानूनअनुसार तोकिएको निकायमा दर्ता र नवीकरण भएको क्लबलाई मात्र समावेश गर्न भनेको छ । त्यस्तै जिल्ला लिग खेल्न क्लबको आफ्नै बैंक खाता र लेखा (प्यान) अनिवार्य हुनुपर्ने जनाएको छ ।

Skip This
Logo