नेपाल, ओमान र अमेरिकाबीचको सिरिज सर्ने सम्भावना

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज सर्ने सम्भावना


आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित हुने सम्भावना बढेको छ । क्रिकेट सम्बन्धि वेबसाइट क्रिकइन्फोका पत्रकार पिटर डेला पेनाले ओमानमा हुने सिरिज स्थगित हुने सम्भावना बढेको बताएका हुन् ।

उनले अमेरिकाले टिमको तयारी रोकेको समेत बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल र अमेरिकाको क्वारेन्टिन खर्च नतिर्ने भएपछि सिरिज स्थगित हुने सम्भावना बढेको हो ।

ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको छ । ओमान पुगेपछि ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम रहेको छ । ओमानले उक्त खर्च आईसीसीलाई व्यहोर्न आग्रह गर्दै आइरहेको छ । ओमान र आईसीसीले भने औपचारिक रुपमा केहि बताएका छैनन् ।

सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी सुरु गरेको हो । क्यानले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको छ । लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

Logo