महिला राष्ट्रिय लिगमा पुलिस क्लब र आर्मी क्लबको जीत

महिला राष्ट्रिय लिगमा पुलिस क्लब र आर्मी क्लबको जीत


राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित निकालेका छन् ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गर्दा अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० ले पराजित गरेको थियो ।

आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २–० गोल अन्तरले पराजित गर्दा शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरे । पहिलो मिनेटमा नै शर्मिलाको गोलबाट अग्रता लिएको आर्मीका लागि ४३ औं मिनेटमा विमलाले गोल थप्दै टोलीको जित सुनिश्चित गरेकी थिइन् ।

जितसँगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यता पुलिसलाई जित दिलाउनका लागि निरु थापाका दुई गोल गरे भने निर्मला उपाध्यायको नाममा एक गोल रह्यो । ४१औं मिनेटमा निर्मालाको गोलबाट अग्रता लिएको पुलिसका लागि निरुले ५७ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर बनाएकी थिइन् । लगत्तै दुई मिनेटपछि नै निरुले गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्याउँदा जित निश्चित भएको हो ।

जितसँगै पुलिसले विराटनगरविरुद्ध अघिल्लो खेलमा ब्यहोरेको बदला समेत लिएको छ । यस अघिको भेटमा पुलिस विराटनगरसँग १–० ले पराजित भएको थियो । विराटनगरलाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । पुलिसले ८ खेलमा ११ अंक जोडेको छ । विराटनगर ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Skip This
Logo