खानेपानीमन्त्री मणिचन्द थापाले बालाजु बाइसधारा उद्यानमा बिहीबार सञ्चालित वाटर एटीएमको उद्घाटन गरेका छन् ।
मन्त्री थापाले बिहिबार नै यहाँसहित रत्नपार्क क्षेत्र र स्वयम्भूमा पनि वाटर एटीएमको सञ्चालन गरिएको जानकारी दिए । पहिलो चरणमा उपत्यकाका १५ स्थानमा यस्तो प्रविधि सञ्चालन गर्ने तयारी रहेको उनले बताए । उनका अनुसार विस्तारै मुलुकभरीका सहरमा यो व्यवस्था लागू गरिनेछ ।
सो अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्ची अहिले राजधानीवासीका लागि निकै महत्वपूर्ण रहेकाले त्यहाँको पानी ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए । राज्यमन्त्री मानन्धरले एक लिटर पानी पनि किनेर खानुपर्ने बाध्यतालाई यो प्रविधिले अन्त्य गरेको दाबी गरे । उनका अनुसार यो प्रविधिको विकाससँगै अब पानी कहाँ पिउने होला भन्ने कुराको अन्त्य भएको छ ।
मन्त्रालयका खानेपानी सचिव माधव बेल्बासेले शुद्ध, प्रविधियुक्त र सस्तो मूल्यमा सर्वसुलभ ढंगले सर्वसाधारणलाई पिउने पानी उपलब्ध गराउने उदेश्यले महानगर र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डको सहकार्यमा पहिलो चरणमा चार स्थानमा वाटर एटीएमको सुरुवात गरेको बताए । उनका अनुसार काठमाडौँका थप ११ स्थानमा यो प्रविधि सञ्चालनमा ल्याउने तयारी छ ।
काठमाडौँवासी र बटुवाहरुलाई सहज र सुलभ तरिकाले प्यास मेटाउन फरकफरक सार्वजनिक स्थलहरुमा सुपथ मूल्यमा स्वच्छ सफा पिउने पानी उपलब्ध गराई मानवमैत्री सहरको रुपमा काठमाडौँलाई परिचित गराउने उदेश्यले यसको थालनी गरिएको काठमाडौँ महानगरको दावी छ ।
प्लाष्टिक र बोतलको पानी प्रयोगमा कमी ल्याइ वातावरणीय सुधारमा टेवा पुर्याउने उदेश्यले यसको थालनी गरेको काठमाडौँ महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले करीब २ करोडको लगानीमा उपत्यकाका १५ स्थानमा यस्तो मेसिन राख्ने तयारी स्वरुप पहिलो चरणमा तीन स्थानको उद्घाटन गरिएको बताए । उनले प्रत्येक वुथमा करीब १५ लाख लगानी रहेको जानकारी दिए ।
वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ?
१) रु पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्ने ।
२) साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने ।
३) कपलाई लगेर कप वा बोतल धाराको तल राख्ने ।
४) त्यसपछि रु १ को सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने ।
५) २०० मिलिलिटर शुद्ध पिउने पानी कप वा बोतलमा झर्नेछ ।
६) त्यसरी प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।
प्रतिक्रिया