महिला लिगः आर्मीको सहज जित

महिला लिगः आर्मीको सहज जित


विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै विमला चौधरीले दुई गोल गरिन् । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् ।

खेलको १० औं मिनेटमा स्ट्राइकर रश्मीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । चन्द्रपुरको गोलरक्षक र डिफेन्डरको तालमेल नमिलेको फाइदा उठाउँदै रश्मीले गोल गरिन् । चन्द्रपुर रश्मीको पूर्व टिम समेत हो ।

जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी एपीएफभन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा एपीएफ र नेपाल पुलिस भिड्ने छन् । यस्तै दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।

Logo