राष्ट्रिय भलिबल टोलीलाई केल्मीको प्रायोजन

राष्ट्रिय भलिबल टोलीलाई केल्मीको प्रायोजन


केल्मी र भलिबल संघबीच सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार केल्मीले राष्ट्रिय टोलीका महिला र पुरुष टोलीलाई समान २ सेट जर्सी, ट्रयाकसुट, ब्याग, जुत्ता उपलब्ध गराउनेछ । त्यस्तै केल्मीले संघलाई २ सय ५० थान केल्मीको भलिबल उपलब्ध गराउनेछ । महिला टोलीमा लगातार सफलता हासिल गर्दै आएको टोलीले भदौंमा चीनमा एसियन च्याम्पियनसिप खेल्दैछ ।

त्यसअघिको यो प्रायोजन सम्झौता हुनुलाई दुवै पक्षले सुखद संयोग मानेका छन् । महिला टोलीले गत वर्ष कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) रजत पदक जितेको थियो । साग इतिहासमा नेपाली भलिबल टोलीले प्राप्त गरेको त्यो अहिलेसम्मकै ठूलो सफलता हो ।

केल्मीले यसअघि तीन वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्दै आएको छ । त्यस्तै ए डिभिजनका विभिन्न क्लबसँग पनि केल्मीको सम्झौता रहेको छ । सम्झौता अनुसार भलिबल संघले स्वीकृत प्रदान गर्ने सबै प्रतियोगितामा केल्मीको भलिबल प्रयोग गर्नु पर्नेछ । महिला र पुरुष टोलीले केल्मीले प्रायोजन गरेको जर्सीको प्रयोग गर्नेछन् । संघले केल्मीको प्रबर्धनमा सहयोग गर्ने सम्झौतामा रहेको बताइएको छ ।

Logo