नेपालका चार महिला खेलाडीले पाकिस्तानको लिग खेल्ने

नेपालका चार महिला खेलाडीले पाकिस्तानको लिग खेल्ने


नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी पाकिस्तानको घरेलु महिला फुटबल लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य एन्जिला तुम्बाप्पो सुब्बा, गिता राना, अनिता केसी र सरु लिम्बुले पाकिस्तानको ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् ।

पाकिस्तान फुटबल फेडेरेशन (पीएफएफ) ले आयोजना गर्ने लिगमा चारै खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट खेल्ने टुंगो लागेको हो । प्रतियोगिताका लागि उनीहरु बिहीबार पाकिस्तानतर्फ जानेछन् । उनीहरु दुबई हुँदै पाकिस्तान पुग्ने छन् ।

चारै खेलाडीले भर्खरै सम्पन्न राष्ट्रिय महिला लिगमा एपीएफलाई उपाधि दिलाएका थिए । गोलरक्षक एन्जिला, डिफेन्डर गिता, मिडफिल्डर सरु र स्ट्राइकर अनिताले पहिलोपटक विदेशमा पुगेर प्रतियोगिता खेल्न लागेका हुन् । यस अघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए । सावित्रा र अनिताले दुई वर्ष अघि सेथु क्लबबाट खेल्दै टोलीलाई लिगको उपाधि दिलाए थिए । पछिल्लो सिजन अनितालाई सेथुमै छाड्दै गोकुलम पुगेकी सावित्राले टोलीलाई लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन् ।

सावित्रा र अनितापछि महिला टोलीमा विदेशी क्लबको प्रतिनिधित्व गर्ने यी चार खेलाडी भएका छन् । चारै खेलाडी पाकिस्तानी घरेलु प्रतियोगिता खेल्ने पहिलो खेलाडी समेत हुनेछन् । प्रतियोगिता मार्च ८ बाट अप्रिल ३ सम्म कराचीमा आयोजना हुँदैछ । प्रतियोगितामा २० क्लबको सहभागिता रहनेछ ।

चार नेपाली खेलाडी सम्मिलित मासा युनाईटेड समूह ‘बी’ मा रहेको छ । प्रत्येक समूहमा पाँच टोली रहेका छन् । सन् २०१९ मा स्थापना भएको मासा युनाईटेडले महिला लिगमा गरेको प्रदर्शनको आधारमा चार नेपाली खेलाडीलाई टोलीमा आवद्व गरेको हो । मासा क्लबले एन्फालाई खेलाडी पठाउन आग्रह गरेसँगै एन्फाले ४ खेलाडीलाई पठाउने तयारी गरेको थियो । एन्फा, राष्ट्रिय खेलकुद परिषद् राखेप, एपीएफ क्लब र गृह मन्त्रालयको सिफारिससँगै चार खेलाडी पाकिस्तानको घरेलु लिग खेल्ने टुंगो लागेको हो ।

Logo