नेपाल र अष्ट्रेलिया बीचको छनोट खेल स्थगित

नेपाल र अष्ट्रेलिया बीचको छनोट खेल स्थगित


फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्ने भनिएको खेल स्थगित भएको छ ।

छनोट अन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा मार्च ३० (चैत १७) गते खेल्ने तालिका रहेको थियो । तर एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धसँगै खेल स्थगित गरिएको हो ।

अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएको छ । अष्ट्रेलियाका खेलाडीहरु युरोपका विभिन्न क्लबबाट खेलिरहेका छन् । तर युरोपमा खेलिरहेका खेलाडीलाई आफ्नो देशमा फिर्ता बोलाउन सक्ने अवस्था नभएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल र अष्ट्रेलिया बीचको स्थगित खेल आगामी जुनमा हुने बताए । छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ ।

नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । एएफसीले नेपाल र ताइपेबीचको खेल यस अघि नै स्थगित गरिसकेको छ । समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । 

Logo