पाँचौँ आरबीबी एनभीए लिग भलिबल चैत तेस्रो साता

पाँचौँ आरबीबी एनभीए लिग भलिबल चैत तेस्रो साता


पाँचौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता आगामी चैत तेस्रो सातादेखि हुने भएको छ । 

नेपाल भलिबल सङ्घले आज पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । काठमाडौँमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ तथा महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष चैतमा हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण एक वर्षपछि सरेको हो । गत वर्ष नै माघमा सम्पन्न एनभीए क्लब भलिबल च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका पुरुष र महिला टोली छनोट गरिएको सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले जानकारी दिए । 

लिगमा पुरुषतर्फ २८ तथा महिलातर्फ १५ खेल हुनेछन् भने शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा पदाधिकारीका लागि बीमाको व्यवस्था गरिएको सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । चन्दका अनुसार प्रतियोगिताका विजेता महिला र पुरुष दुवै टोलीले रु तीन लाख, उपविजेता टोलीले रु एक लाख ५० हजार, तेस्रो हुनेले रु ७५ हजार तथा चौथो हुनेले रु ३७ हजार ५०० पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार तथा उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले रु १० हजार प्राप्त गर्नेछन् । 

लिग सञ्चालन गर्न रु २८ लाख खर्च हुने सङ्घले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गर्ने यसअघि नै सम्झौता भइसकेको छ । प्रतियोगितमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, बुद्धटोल भलिबल क्लब, मणिमुकुन्द क्लब बुटबल र बुलबुले क्लब रारा तथा महिलातर्फ एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकूद परिषद्ले सहभागिता जनाउने सङ्घले जनाएको छ । 

Logo