सातौं प्रधानमन्त्री कप : उपाधीका लागि एपीएफ र पुलिस भिड्ने

सातौं प्रधानमन्त्री कप : उपाधीका लागि एपीएफ र पुलिस भिड्ने


सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब दुवै टिमले समान तीन तीन जीत निकालेका छन् । एपीएफ र पुलिस उपाधिका लागि भिड्नेछन् ।

नेपालगन्ज रंगशाला परिसरमा अवस्थित कभर्डहलमा सोमबार एपीएफले होंगान्जी न्यु डायमन्ड क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो । त्यसपछि लगातार एपीएफले जीत निकाल्यो । एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित गर्यो । 

पहिलो सेटमा राम्रो खेलेपनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो । खेलमा प्लेयर अफ द म्याच एपीएफकी बिनिता बुढाथोकी भइन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला सचिव चुडामणी पौडेल, कैलपाल कलेजकी निर्देशक रेवती सिंह र एबीसी स्कूलकी प्रिन्सिपल शशी स्वाँरले पुरस्कृत गरे । 

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गरेर लगातार तेस्रो जीत निकालेको हो ।

पहिलो सेट गुमाएर पनि पुलिसले कम्ब्याक गरेको थियो । पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो । 

तेस्रो सेटको अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो । आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो । १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७–२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो । 
उक्त खेलमा प्लयेर अफ द म्याच पुलिसकी मनिषा चौधरी.भइन् । उनलाई नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख थापा, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड र युवा उद्दमी शिवांगिनी राणाले पुरस्कृत गरे ।

प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले दुई लाख, तेस्रो हुनेले एक लाख नगदबाट पुरस्कृत हुनेछन् । प्रतियोगिता मंगलवार समापन हुनेछ ।

Logo