पीएमकप भलिबलको उपाधि एपिएफलाई

पीएमकप भलिबलको उपाधि एपिएफलाई


डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलको चुनौतिलाई समाप्त पार्दै एपिएफले नेपागञ्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ ।

नेपालगञ्ज कभर्डहलमा सम्पन्न खेलमा  एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेका छन् । एपिएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

उपाधि उचालेको एपिएफले लिगमा अपराजित रहँदै उपाधि जितेको हो । बाँके जिल्ला भलिबल संघको आयोजना भएको  प्रतियोगितामा होङ्गान्जी न्यु डायमन्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो । न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा नेपाल एपिएफकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । सरस्वतीले नगद २५ हजार प्राप्त गरिन् । यस्तै अन्य विधागततर्फ नेपाल पुलिसकी उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्टाइकर घोषित हुँदा एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर चुनिए । एपिएफका महेश चौधरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक छानिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरे ।

तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो । 

Logo