१० असोज २०७८ आइतबार

...त्यसपछि अनुले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरिन्

डेढ दशकको फुटबल–यात्रामा उनलाई कहिल्यै थकान महसुस भएको छैन। चौबिस अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक (३५) गोल गरेर ‘गोल मेसिन’ को उपमा पाएकी उनी फुटबल खेललाई आफ्नो ‘प्यासन’ ठान्छिन्।

महिला फुटबलको राष्ट्रिय टिमबाट संन्यास लिए पनि उनी सशस्त्र प्रहरी बल (एपिएफ) को विभागीय टिमबाट खेलिरहेकी छन्। उनी अर्थात् अनु लामा चर्चित नेपाली महिला फुटबलर, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फुटबलको बलियो उपस्थिति देखाएर छाडिन्।

दुई वर्षअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि उनको खेल–जीवन सक्रिय छ। उनले राष्ट्रिय खेलहरूमा भने सहभागिता जनाइरहेकी छन्। उनी सशस्त्र प्रहरी बलको टिमबाट खेल्दै आएकी छन्।

अन्तर्राष्ट्रिय म्याचमा गोल वर्षा 

बंगलादेशको राजधानी ढाकामा सन् २०१० मा भएको एघारौंं सागमा नेपालले पहिलोपटक महिला फुटबलमा सहभागिता जनाएको थियो। उक्त म्याचमा नेपाली टिमको तर्फबाट अनुले पाँच गोल गरेकी थिइन्। त्यही वर्ष सम्पन्न पहिलो महिला साफ च्याम्पियनसिपमा उनले ११ गोलको वर्षा गरेकी थिइन्। 

श्रीलंकामा आयोजित दोस्रो साफ च्याम्पियनसिपमा उनले पाँच गोल गरिन्। त्यस्तै, पाकिस्तानमा आयोजित तेस्रो साफ च्याम्पियनसिपमा  पनि उनले पाँच गोल गरिन् । सन् २०१३ मा कुवेतसँग भएको दुईवटा मैत्रीपूर्ण खेलमा अनुले ६ गोल गरिन् भने कतारसँगको मैत्रीपूर्ण खेलमा एक गोल। सन् २०१४ मा भएको तेस्रो वुमन च्याम्पियनसीपमा उनी नेपाली टिमको कप्तान थिइन्। 

सन् २०१६ मा भएको १२ औं सागमा अनुले दुई गोल गरेकी थिइन्। यसरी उनकोअन्तर्राष्ट्रिय कीर्तिमानी गोलसंख्या ३५ पुगेको छ। त्यसअघि नेपाली महिला फुटबलकी कप्तान जमुना गुरुङले २५ गोल गरेकी थिइन्। 

पछिल्लो समयमा भने सावित्रा भण्डारी (साम्बा)ले अनुको यो कीर्तिमानी तोडेकी छन्। १३ औं सागमा चर्चित खेलाडी साम्बाले अन्तर्राष्ट्रिय म्याचमा ३८ गोल गरेर अनुको रेकर्ड तोडेकी हुन्।

साम्बाले आफ्नो कीर्तिमानी तोड्दा कुनै दुःख नलागेको उनको भनाइ छ। ‘मलाई थाहा थियो–एकदिन मेरो कीर्तिमानी सावित्राले तोड्छिन् भन्ने।  अन्तर्राष्ट्रिय खेल नखेलेपछि स्वाभाविक रूपमा आफ्नो कीर्तिमानी तोडिएको उनको भनाइ छ। ‘तर, मैले साग च्याम्पिनसिपमा सर्वाधिक गोल गरेर जुन इतिहास रचे, त्यसलाई सधैंभरि स्मरण गरिनेछ,’ उनी भन्छिन्।

स्कुल पढ्दादेखि नै फुटबल मोह

२०४४ साल असोज १७ गते मकवानपुरको धियालमा जन्मिएकी अनुको बाल्यकाल मावली गाउँ सिन्धुलीमा बित्यो। बाल्यकालमा आफैंले बनाएको झुम्राको बल खेलेर हुर्किइन् उनी। यद्यपि, उनको खेलजीवन भने रौटहतको चन्द्रपुरबाट सुरु भएको थियो। 

उनी ६ वर्षको हुँदा सपरिवार रौटहटको चन्द्रपुर बसाइँ सरेको थियो। चन्द्रपुरको बागमति सेकेन्डरी हाइस्कुलमा उनको स्कुले जीवन बित्यो। त्यहीँबाट सुरु भयो उनको फुटबल मोह। 

बच्चादेखि नै फुटबल भनेपछि हुरुक्कै हुने उनको स्वभाव थियो। उनी वास्तवमै राम्रो फुटबल खेल्थिन्। स्कुलको केही प्रतियोगितामा उनी केटाहरूकै टिममा समेत खेल्थिन्। 

उनको फुटबल करिअर भने प्रशिक्षक शेरबहादुर दर्लामीको आगमनसँगै  सुरु भयो। महिला फुटबल प्रशिक्षक शेरबहादुरले त्यसबेलै अनुको प्रतिभा आँकलन गरिसकेका थिए।  त्यसपछि उनले अनुलाई स्ट्राइकरको रूपमा तिखार्ने काम गरेका थिए। 

सहयोगी मेन्टर (प्रशिक्षक) पाएपछि  उनले क्षेत्रीय प्रतियोगितामा आफ्नो सहभागिता बढाउँदै गइन्। राम्रो खेल्ने उनी सबैको नजरमा पर्न थालिन्।

अवसरको खाजीमा उनी काठमाडौं आइन्। सानैदेखि खेल खेलिरहने उनी शारीरिक रुपमा फूर्तिलो र तन्दुरुस्त थिइन्। २०६३ सालमा उनले सशस्त्र प्रहरी बल (एपीएफ) मा सेवा सुरु गरिन्। त्यसपछि उनी सशस्त्रको विभागीय क्लबबाट पेशागत रूपमा फुटबल खेल्न थालिन्। 

अन्तर्राष्ट्रिय खेलयात्रा सुरु 

फुटबलप्रतिको दृढ संकल्प, लगाव, अनुशासन र प्रतिभाकै कारण अनु राष्ट्रिय महिला टिममा परिन्। सन् २००४ मा चीनमा भएको यु १९ को एसियाली छनोट प्रतियोगितामा उनी छानिएकी थिइन्, जसले उनलाई राष्ट्रिय टिममा पुग्न मद्दत गर्‍यो। 

‘घरेलु मैदानमै  खेल जीवनबाट संन्यास लिने मेरो ठूलो सपना थियो, त्यो पूरा भएन,’ अनु भन्छिन्, ‘त्यसपछि मैले राष्ट्रिय टिमबाट कुनै पनि खेल नखेल्ने निर्णय गरेँ।’

सन् २०१० मा दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप सुरु भयो। त्यही वर्षदेखि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा महिला फुटबल अनिवार्य गरिएको थियो। यी प्रतियोगिताले दक्षिण एसियामा महिला फुटबल विकास गर्न ठूलो मद्दत गरेको देखिन्छ। 

यी प्रतियोगितासँगै अनुको अन्तर्राष्ट्रिय खेलयात्रा सुरु भयो। उनले डेब्यु खेल माल्दिप्ससँग खेलेकी थिइन्।

यी प्रतियोगितामा राष्ट्रिय टिमको कप्तानी जमुना गुरुङले गरेकी थिइन्। 

जब जमुना र अनु मैदानमा उत्रिन्थे, उनीहरुलाई रोक्न विपक्षी टिमलाई धौ धौ  पर्थ्याे । मैदानमा गोलको वर्षा हुन्थ्यो। ‘हामीले अन्तर्राष्ट्रिय खेलमा गरेको गोलको वर्षाले महिला फुटबलतर्फ सबैको ध्यान तानेको थियो,’ उनी सम्झिन्छन्। 

त्यो दुर्भाग्यपूर्ण दिन

प्रतियोगिता भए पनि नभए पनि फुटबल खेलाडीले दैनिक अभ्यास गर्नुपर्ने आवश्यकता हुन्छ। त्यसै पनि उनी सशस्त्र प्रहरीको विभागीय टोलीमा आबद्ध खेलाडी हुन्। उनको त कामै खेल्ने अनि अभ्यास गर्ने हो।

२०७१ साल  भदौ १७ गते बिहान सदाझैं उनी अभ्यासका लागि स्वयम्भू, हल्चोकस्थित एपीएफ मैदान पुगिन्। अभ्यासका क्रममा गोल गर्न उफ्रिँदा उनले नियन्त्रण गुमाइन् र दायाँ खुट्टाको घुँडामा नराम्ररी चोट लाग्यो। त्यसबेला उनी चौथो साफ च्याम्पियनसिपको तयारी गरिरहेकी थिइन्। 

त्यस गम्भीर चोटले उनको खेल–जीवन नै प्रभावित हुन पुग्यो। अझै उनले त्यो दुर्भाग्यपूर्ण दिन बिर्सन सकेकी छैनन्। त्यो चोटले उनले चौथो साफ च्याम्पियनसिपमा खेल्न पाइनन्। 

घुँडामा गम्भीर चोट लागेकाले ग्रान्डी हस्पिटलमा शल्यक्रिया गरियो। त्यसपछि उनलाई फुटबल छुन मात्र आठ महिनाभन्दा बढी लागेको थियो भने मैदान फर्किन झन्डै दुई वर्ष । 

‘त्यसबेला महिला फुटबलमा अहिलेजस्तो सुविधा थिएन। विदेशमा शल्यक्रिया गर्न जाने भन्ने कुरै थिएन, शल्यक्रिया गर्नुभन्दा पहिले प्रि–रिह्याब बस्नुपर्ने रहेछ, त्यो पनि थाहा भएन,’ उनी भन्छिन्। 

अहिले साम्बालाई पनि अनुलाई जस्तै चोट लागेको छ । साम्बा आफूभन्दा चाँडै खेलमा फर्कन सक्ने अनुको विश्वास छ। ‘अहिले साम्बा प्रि–रिह्याब बसिरहेकी छिन्,  उनको शल्यक्रिया विदेशमा हुने भएकाले राम्रो नतिजा आउन सक्छ,’ उनी विश्वास व्यक्त गर्छिन्।
 
त्यो अधुरो चाहना

राष्ट्रिय टोलीकी स्ट्राइकर अनुले नेपाली महिला फुटबलमा राम्रो छाप बनाएकी छिन् । उनले जीवनमा बोकेको एउटा सपना भने अधुरो नै रह्यो। 

उनले २०७५ साल फागुन २८ गते घरेलु मैदान विराटनगरस्थित सहिद रंगशालामा आयोजित पाँचौ साफ च्याम्पियनसिप खेलेर खेल जीवनबाट संन्यास लिने सोच बनाएकी थिइन्। तर, उनी नेपाली टोलीमा पर्न नसकेपछि त्यो सपना साकार हुन सकेन। 

‘घरेलु मैदानमै  खेल जीवनबाट संन्यास लिने मेरो ठूलो सपना थियो, त्यो पूरा भएन,’ उनी भन्छन्, ‘त्यसपछि मैले राष्ट्रिय टिमबाट कुनै पनि खेल नखेल्ने निर्णय गरेँ।’ त्यसयता उनी राष्ट्रिय टोलीको जर्सी लगाएर उनी अन्तर्राष्ट्रिय म्याचमा देखा परेकी छैनन्। 

नेपाली राष्ट्रिय फुटबल टिमका लागि १५ वर्ष खेलेकी उनले नेपालको महिला फुटबललाई स्थापित गर्न महत्वपूर्ण योगदान दिएकी छिन्। उनले महिला टिमको शिर उचो राखेकी छन्। उनले राष्ट्रिय टिमबाट २७ अन्तर्राष्ट्रिय खेल खेल्दा ३५ गोल गरेकी छिन्। 

एपिएफमा हवल्दार अनुले केही समय क्लबबाट खेल्ने सोच बनाएकी छिन्। त्यसपछि उनले आफ्नै गाउँ फर्किएर प्रशिक्षक बन्ने चाहना राखेकी छन्। 

प्रकाशित: १६ चैत २०७७ १४:३२ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी