एनभीए भलिबल लिग : पुलिसको विजयी सुरुवात

एनभीए भलिबल लिग : पुलिसको विजयी सुरुवात


विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फको खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा हराएर पुलिसले विजयी सुरुवात गरेको हो ।

राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको पुलिसले नयाँबजारविरुद्ध २५–९, २५–२१ र २५–१६ को सेटमा जीत निकाल्यो । महिलातर्फको पहिलो खेलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लबले जीत हासिल गरिसकेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् । यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

Logo