एनभिए भलिबल : पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फको उपाधि न्यू डायमन्डलाई

एनभिए भलिबल : पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फको उपाधि न्यू डायमन्डलाई


पाँचौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्टस् क्लबले जितेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेको हो।

पहिलो सेट २२–२५ ले गुमाएको डायमन्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो। चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमन्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको थियो।  

जीतसँगै डायमन्डले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको दोस्रो उपाधि जितेको छ। यस अघि पहिलो संस्करणमा विभागीय टोली एपिएफलाई हराएर उपाधि उचाल्न सफल भएको थियो। उपाधि उचालेको न्युडायमन्डले पुरस्कारस्वरुप ३ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो। तेस्रो भएको एपिएफले नगद ७५ हजार प्राप्त गर्यो।

यस्तै पुरुषतर्फको फाइलन खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। यस अघि बुधबार भएको समूह चरणको खेलमा एपिएफले हेल्प नेपाललाई सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो। हेल्प नेपालले एपिएफमाथि २५–१४, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो। 

तीन भारतीय खेलाडीलाई कोर्टमा उतारेको हेल्प नेपालले उपाधिसँगै नगद तीन लाख रुपैंयाँ हात पारेको छ। उपविजेता एपिएफले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझायो। तेस्रो भएको बुलबुले रारा क्लबले ७५ हजार प्राप्त गर्यो। चौथो भएको पुलिसले ३७ हजार पाँच सय रुपैयाँ पायो। प्रतियोगितामा महिला तर्फ ६ र पुरुषतर्फ ७ टोलीले सहभागिता जनाएका थिए।

Logo