त्रिकोणात्मक सिरिज : नेदरल्यान्डद्वारा मलेसिया १५ रनले पराजित

त्रिकोणात्मक सिरिज : नेदरल्यान्डद्वारा मलेसिया १५ रनले पराजित


ट्वान्टी–२० क्रिकेटमा म्याक्स ओडाउटको कीर्तिमानी शतकको प्रेरणामा नेदरल्यान्ड्सले त्रिकोणात्मक शृखंलामा आज मलेसियालाई १५ रनले पराजित गरेको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाउँदै दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले ८ विकेट गुमाएर १ सय ७६ बनाउन सक्यो  । कीर्तिमान बनाएका ओडाउटले कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन बनाएका हुन्। 

यससँगै नेदरल्यान्ड्सका लागि ट्वान्टी–२० क्रिकेटमा पहिलो शतक पनि भएको छ। उनले नटआउट १३३ बनाउँदा ६ छक्का र १५ चौका प्रहारगरेका थिए। यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको कीर्तिमान बनाएका थिए। ओडाउटलाई साथ दिएका विकेट किपर ब्याट्सम्यान स्कट एड्वाड्र्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए। मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १ /१ विकेट लिए।

१ सय ९२ रनको  जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो। मलेसियाका लागि बिरन्दीप सिंहले ५३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए। त्यस्तै, सार्बिन मुनियान्दीले २८ तथा अमिनुद्धिन राम्लेले २६ रन बाहेक अन्य ब्याट्सम्यान राम्रो स्कोर छुन सकेनन्। नेदरल्यान्ड्सका लागि आर्यन डट, बास डी लिट र सेबास्टियन ब्राटले २/२ विकेट लिए। शृखंलामा दोस्रो खेल खेल्दा पहिलो जित निकालेको नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो। प्रतियोगितामा भोली नेपाल र मलेशियाबीच प्रतिस्पर्धा हुनेछ।

Logo