त्रिकोणात्मक टी–ट्वान्टी: कुशल भूर्तेलको अर्धशतकमा नेपालको लगातार दोस्रो जीत

त्रिकोणात्मक टी–ट्वान्टी: कुशल भूर्तेलको अर्धशतकमा नेपालको लगातार दोस्रो जीत


त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ। 

मलेसियालाई ९ विकेटले पराजित गर्दे नेपालले लगातर दोस्रो जीत निकालेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षति व्यहोर्दै पूरा गरेको हो । 

नेपालको जितका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेल्दै नायक बने । कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो। 

त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे । उनी १२ ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा कभरमा अनवर रहमानको हातबाट क्याच आउट भए।

आसिफ र कुशलले १ सय २ रनको साझेदारी खेले । उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लले १/१ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो।  खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो। 

दोस्रो जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। मलेसियाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

Logo