त्रिकोणात्मक टि ट्वान्टी सिरिज: नेपालद्वारा मलेसिया ६८ रनले पराजित

त्रिकोणात्मक टि ट्वान्टी सिरिज: नेपालद्वारा मलेसिया ६८ रनले पराजित


त्रि.बि.अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज अन्तर्गत आज भएको लिगको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।  उत्कृष्ट पहिलो ब्याटिङ गरेको नेपालले मलेसियालाई ६८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।

नेपालका लागि करण केसीले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रनको योगदान दिए  । उनले मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन जोडेका थिए । यस्तै ओपनर कुशल भुर्तेलले १२ बलमा २ छक्का सहित १६ रनको योगदान दिए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग ७३ रनको साझेदारी खेलेका थिए । मल्लले २५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४१ रन जोडेका थिए । त्यस्तै ३२ बल खेलेका आसिफले ३ चौका र एक छक्काको मद्दतमा ४२ रनको योगदान दिएका थिए।

त्यस्तै उपकप्तान दिपेन्द्रसिंह ऐरी पेभिलिनय फर्किए । उनी १६ औं ओभरको चौथो बलमा आउट भएका थिए । ऐरीले १७ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३३ रन जोडेका थिए । यस्तै विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारीले पनि ८ रन जोडे । त्यसपछि मैदान आएका सोमपाल कामी दुई रनमा एलबीडब्लु आउट भए । कुशल मल्ल १० रनमा २ छक्का सहित १९ रनमा अविजित रहे।

मलेसियाका लागि अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई विकेट लिए । त्यस्तै मोहम्मद आफिकले एक विकेट लिए । यस्तै नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए । त्यस्तै सुशन भारीले एक विकेट लिए।

अब नेपालले शनिबार फाइनल खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपालले ४ खेलमा ६ अंक जोडेर शिर्षस्थान कायमै राखेको छ। नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ । मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ।

Skip This
Logo