त्रिदेशीय टी-२० क्रिकेटमा नेपालको ऐतिहासिक जित (भिडियोसहित)

त्रिदेशीय टी-२० क्रिकेटमा नेपालको ऐतिहासिक जित (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये आयोजक नेपालले त्रिदेशीय टी २० क्रिकेट सिरिजको उपाधी हात पारेको छ। शनिबार भएको फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै  नेपालले ऐतिहासिक जित हासिल गरेको हो। नेपालले दिएको २३९ रनको बिशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमै समेटिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण पछि बालकोनीमा पुगेर प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्दै  पुष्पवृष्टि समेत गरेका थिए। प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गर्दै २०७२ सालको भूकम्पमा धरहरा ढल्दा त्यहाँ मृत्यु हुने परिवार तथा घाइते भएका परिवारका एक–एक सदस्यलाई धरहरामै रोजगारी दिने उद्घोष पनि गरेका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन्। राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अहिलेको परिस्थितिमा औषत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको बताए। कोभिडको सामना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढङ्गले बजेट निर्माण हुने जानकारी दिए।

'नयाँ युगको शुभारम्भ’का रुपमा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका सामाजिक सुरक्षा कोषको कार्यलयले जनाएको छ। औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन कोष लागि परेकाले पनि यो उपलब्धी हासिल हुन सकेको कोषले जनाएको छ। कोषमा आवद्ध हुनेमा सबैभन्दा बढी वाग्मती प्रदेशमा रहेको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्षको नौ महिनामा नेपालको व्यापारघाटा १३.१२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। भन्सार विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको देखिएको हो। विभिन्न मुलुकसँगको व्यापारघाटा मध्ये सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनसँग रहेको छ।

Logo