गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने


उपप्रधानमन्त्री ईश्वर पोखरेलले धुर्मुस सुन्तली फाउन्डेशनबाट चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशालालाई राज्यको तर्फबाट सहयोग गर्ने बताएका छन् । 

बिहीबार निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले रंगशाला निर्माणका लागि राज्यको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका सम्बन्धमा छलफल गर्दै धुर्मुस–सुन्तली फाउन्डेशनले गरेको कामहरू प्रेरणादायी र प्रसंशनीय रहेको भन्दै प्रसंशा समेत गरे । उनले भने – ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताए । उपप्रधानमन्त्रीसँगको भेटपछि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले आफु राज्यलाई सघाउने अभियन्ता भएको बताए । 

रंगशाला निर्माणमा उपप्रधानमन्त्रीले चासो देखाएकोमा उनले खुशी व्यक्त गरे। उनले भने-‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामी निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं’

धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणका लागि अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोडभन्दा बढी खर्च भइसकेको जानकारी दिए । १३ करोड रुपैयाँ ऋणमा रहेको उनको भनाइ छ । रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए । 

Logo