क्रिकेटर कुशल भूर्तेलको त्यो कीर्तिमानी खेल (भिडियाेसहित)

क्रिकेटर कुशल भूर्तेलको त्यो कीर्तिमानी खेल (भिडियाेसहित)


हालै नेपालमा सम्पन्न भएको नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि २० सिरिजको उपाधि नेपालले हात पार्याे। फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै सानदार जितका साथ च्याम्पियन बन्यो।

नेपालले घरेलु मैदानमा ११ वर्षपछि उपाधि हात पारेको हो। नेपाललाई जित दिलाउन राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान कुशल भूर्तेलले महत्वपूर्ण योगदान दिए। फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई दिएको २ सय ३९ रनको विशाल विजयी लक्ष्यमध्ये कुशलले सर्वाधिक ७७ रनको योगदान दिएका थिए। 

नेपाली युवा ब्याट्सम्यान कुशल भूर्तेलले यसै टि २० सिरिजबाट डेब्यु गरेका हुन्। डेब्यु खेलमा कुशलले नेदरल्यान्ड्ससँगै खेलेका थिए। उनले आफ्नो डेब्यु खेलमै  अर्धशतक पूरा गरेका थिए। नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका उनले त्रिकोणात्मक टि २० सिरिजको कूल पाँच खेलमा चार अर्धशतकसहित २ सय ७८ रन बनाएका थिए।

कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यु गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित रहेका थिए। तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए। त्यस्तै, चौथो खेलमा मलेसियासँग १६ रनमा आउट हुँदा फाइनलमा ७७ रन बनाएका थिए।

 कुशल चार अर्धशतक प्रहार गर्ने टि २० का पहिलो खेलाडीसमेत बनेका छन्। कुशलले उत्कृष्ट प्रदर्शनका साथ विश्व कीर्तिमान बनाएका छन्। 

कुशल विश्व कीर्तिमानी बनेपछि… 

आफ्नो देशलाई प्रतिनिधित्व गर्ने र आफ्ना समर्थकलाई खुशी राख्ने सबै खेलाडीको चाहना हुन्छ। ‘हाम्रा लागि एउटा राम्रो अवसर थियो, सबैले उत्तिकै मेहनत गरेका थियौं तर आफुले कीर्तिमानी नै बनाउँछु भन्ने लागेको थिएन,’ कुशल भन्छन्।

आफूले कीर्तिमानी बनाउनुमा सबैभन्दा ठूलो कारण आफ्नो टिम, प्रशिक्षक र आफूले गरेको मेहनत भएको कुशल बताउँछन्। ‘डेब्यु खेल थियो नर्भस थिएँ, तर मेहनत भने गरेको थिएँ,’ उनी भन्छन्। 
त्रिकोणात्मक खेलका लागि नेपाली टिमले राम्रो तयारी गरेको थियो। आफूले एक रन बनाए पनि नेपालले भने जित्नुपर्छ भन्ने कुशलको चाहाना थियो। उनी भन्छन् ‘पहिले म आफ्नो लागि खेल्थेँ, अब देशका लागि खेल्दै थिएँ।’ 

कुशलले राष्ट्रप्रतिको जिम्मेवारी हिजोभन्दा आज बढेको महसुस गरेका छन्। मेहनत र लगनशीलताकै कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ। उनी भन्छन् ‘मेहनत गरेपछि सफलता अवश्य मिल्छ,  एक साता अगाडिसम्म म केही थिइनँ। अहिले सबैको माया र वाहवाही पाएको छु।’  

कुशल चार अर्धशतक प्रहार गर्ने टि २० का पहिलो खेलाडीसमेत बनेका छन्। कुशलले उत्कृष्ट प्रदर्शनका साथ विश्व कीर्तिमान बनाएका छन्। 

अन्तर्राष्ट्रिय लिग खेल्ने चाहना सबै खेलाडीलाई हुन्छ। तर, कुशलको सपना भने आफ्नै राष्ट्रका लागि केही गर्ने भन्ने छ। अस्ट्रेलियाको क्रिकेट टिमबाट खेल्न प्रेरित भएका कुशल आगामी दिनमा समर्थकलाई निराश हुन नदिने बताउँछन्। 

फुटबल खेलाडी कुशल कसरी बने क्रिकेटर ?

रुपन्देही जिल्लाको बुटवल मणिग्राममा २०५३ सालमा परिवारको दोस्रो सन्तानका रूपमा जन्मिएका कुशल सानैदेखि खेलकुदप्रेमी थिए। उनले ठट्यौली शैलीमा भने ‘त्यतिबेला सबै खेलहरू खेल्न मन पर्ने, तर, पढ्न मात्र मन नपर्ने।’

उनी विशेषतः फुटबल खेल्न रुचाउँथे। ‘क्रिकेट खेल्न धेरै सामग्री चाहिन्छ। तर, फुटबलमा एउटा बल भए पुग्थ्यो। स्कुलमा सबैले फुटबल नै खेल्ने भएकाले मेरो आकर्षण फुटबलतिर गयो,’ उनी सम्झिन्छन्। 

कुशलका बुबालाई भने क्रिकेटमा धेरै रुचि थियो। त्यस बेला उनका बुबा दक्षिण कोरियामा बस्थे। उनी सन् २०११ मा नेपाल फर्किएपछि कुशललाई क्रिकेट खेल्ने भनी सोधे।

बाल्यकालमा सबै खेल खेले पनि यही खेलमा ‘फोकस’ हुन्छु भन्ने भन्ने उनको निश्चित सपना थिएन। बुबाको एउटा प्रश्नले कुशलको जीवन नै परिवर्तन गरिदियो। 

त्यसै बखत कुशलका बुबाले स्कुलस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरे। त्यसबेला कुशल कक्षा ८ मा पढ्थे। उक्त प्रतियोगितामा कुशलले पनि आफ्नो स्कुलबाट सहभागिता जनाएका थिए।

त्यसपछि भने कुशल आफ्नो ठाउँमा आयोजना हुने हरेक प्रतियोगितामा नियमित सहभागी हुन थाले। परिवारको सहयोग र आफ्नो मेहनतले कक्षा ९ मा पढ्दै गर्दा नेपालको यु–१६ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर पाए।  

कुशलको क्रिकेट यात्रा 

कुशल कक्षा ११ मा पढ्दै गर्दा धनगढीमा नेपाल प्रिमियर लिग एनपिएल आयोजना भएको थियो।  त्यही बेला कुशलको कक्षा ११ को बोर्ड परीक्षा पर्याे।

 कुशललाई भने परिक्षा दिने मन भए पनि उनका बुबाले खेल खेल्न प्रोत्साहन गरे। ‘बुबाले मलाई सधैँ बरु नपढ्, तर क्रिकेट चाहिँ खेल भन्नुहुन्थ्यो। बुबाले परीक्षा र खेलमध्ये खेल नै रोज्नुभयो र, मलाई खेल्न पठाउनु भयो,’ उनी सम्झिन्छन् । 

 परीक्षा छाडि–छाडी खेल्न गएका कुशलको टिमले उक्त प्रतियोगिताको उपाधि जितेको थियो। बुबाको यस्तो साथ पाउँदा आफू निकै भाग्यमानी छोरा भएको महसुस गर्ने गरेको उनी बताउँछन्। 
सन् २०१२ मा आयोजित नेपालको यु–१६ टोलीमा कुशल समावेश भए। अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो पहिलो पाइला थियो।

 उक्त प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि उनी मलेसियामा भएको एसिसी यु–१६ का लागि छनोट भएका थिए। बिडम्बना, पहिलो खेलपछि उनी अभ्यासका क्रममा घाइते भएर नेपाल फर्किएका थिए। 

यु–१६ मा परेपछि कुशलले नेपाल पुलिस क्लबबाट खेल्ने मौका पाए। त्यसपछि उनले एभरेस्ट प्रिमियर लिग (इपिएल) ललितपुरबाट खेले । यस्तै पोखरा प्रिमियर लिग पोखराबाट खेल्ने मौका पाए भने धनगढी प्रिमियर लिग (डिपिएल) विराटनगरबाट खेलेका थिए। 

 उनी सन् २०१५ मा मलेसियामा भएको यु–१९ विश्वकप छनोट प्रतियोगितामा राष्ट्रिय टोलीमा पर्न सफल भए। उक्त प्रतियोगितामा नेपाल आयरल्यान्डलाई हराउँदै यु–१९ को विश्वकपमा पुगेको थियो । उनले भने ‘तर, मैले प्रतियोगिताको एउटा खेल पनि खेल्ने अवसर पाइनँ, बेन्चमै बसेर नेपाल फर्किए।’ 

सन् २०१६ को सुरुआततिर बङ्गलादेशमा भएको यु–१९ विश्वकपमा भने कुशलले न्युजिल्यान्डविरुद्ध खेल्दै अविजित ३५ रन बनाएका थिए। यसपछि सन् २०१९ मा नेपालमै आयोजना भएको १३ औँ दक्षिण एशियाली खेलकुदमा पनि कुशल टिममा परे। तर, यति बेला पनि खेल्ने मौका भने पाएनन्।

Logo