नेपाल सुपर लिगः काठमाडौँ रेजर्सद्वारा बुटवल लुम्बिनी पराजित

नेपाल सुपर लिगः काठमाडौँ रेजर्सद्वारा बुटवल लुम्बिनी पराजित


नेपाल सुपर लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा  काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो। हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरेका हुन्। उनले खेलको  पाँचौँ मिनेटमा गोल गरेका थिए। खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो । यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरको बुटवलले फाइदा लिन सकेन। खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन । 

यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन। खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन। 

जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ। बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ। 

Logo