नेपाल सुपर लिगः ललितपुर र बुटवल प्ले अफमा

नेपाल सुपर लिगः ललितपुर र बुटवल प्ले अफमा


ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन्। ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे। दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको छैटौं मिनेटमा विराटनगरका लागि विदेशी एडिलाजा सोमिडेले गोलको प्रयास गरे पनि असफल भए। खेलको १४ औं मिनेटमा विराटनगरका एडिलाजाले नै गोलको अवसर गुमाए। 

ललितपुरका गोलकिपर अर्पण कार्कीले उनलाई विफल पारे। कार्कीले नै विराटनगरका सन्तोष तामाङको प्रहार सहजै रोके। खेलको ३६ औं मिनेटमा ललितपुरका कप्तान विष्टले पहिलो गोल गरे। उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले रोक्न सकेनन्। खेलको ६३ औं मिनेटमा ललितपुरका रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गरे। खेलको ८१ औं मिनेटमा कप्तान विष्टले नै दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा विराटनगरका रञ्जित धिमाल रातो कार्ड पाएर मैदानबाट बाहिरिए। 

खेलको इञ्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताए। खेलमा ललितपुरका कप्तान विष्ट प्लेयर अफ दी म्याच घोषित भए। उनले रु २५ हजार पुरस्कार प्राप्त गरे। उदीयमान खेलाडी ललितपुरकै डोना थापा चुनिइन्। उनले रु १० हजार पुरस्कार प्राप्त गरिन्। जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ। विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो। 

यसैगरी अर्को खेलमा बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो। बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गरेका हुन् । बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो। आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौं भिड्ने छन्। धनगढी र काठमाडौंबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ। 

Skip This
Logo