युरोकपः आज अस्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै, को बलियो?

युरोकपः आज अस्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै, को बलियो?


आज युरोकपको समूह चरण अन्तर्गत ‘समूह सी’ का अस्ट्रिया र नर्थ म्यासेडोनिया भिड्ने भएका छन्। रोमानियाको बुकारेस्टस्थित नेशनल एरिनामा नेपाली समय अनुसार बेलुका ९ः४५ मा खेल सुरु हुँदैछ। 

कसले जित्छ भनी युरोकपको आयोजक युएफाले गरेको अनलाइन पोलमा विहान ८ बजेसम्म अस्ट्रियाको समर्थनमा ६६ प्रतिशतले भोट गरेका थिए भने नर्थ म्यासेडोनियाको समर्थनमा २६ प्रतिशतले मात्र भोट गरेका थिए। त्यस्तै ८ प्रतिशतले म्याच बराबरीमा टुंगिने अपेक्षा गरेका थिए।

दुवै टिमको पछिल्ला ६ खेलको फर्म तुलना गर्ने हो भने नर्थ म्यासेडोनिया बलियो स्थानमा छ। पछिल्ला ६ खेलमध्ये ३ खेल जितेको नर्थ म्यासेडोनियाले २ खेलमा हार ब्यहोर्दै गर्दा एक खेल भने बराबरीमा टुङ्ग्यायो। त्यस्तै पछिल्ला ६ खेलमध्ये १ खेल मात्र जितेको अस्ट्रियाले २ खेल हार्दा ३ खेल भने बराबरीमा टुङ्ग्याएको थियो। खेललाई बराबरीमा टुङ्ग्याउने पनि कुनै टिमको क्षमताले नै हो। त्यसकारण बराबरीको खेललाई पनि हेर्ने हो भने अस्ट्रिया पनि कमजोर स्थितमा भने छैन।   

युरोकप छनौट चरणमा अस्ट्रिया र नर्थ म्यासेडोनिया दुई पटक भिडेका थिए र दुवै पटक अस्ट्रिया जीत हासिल गर्न सफल भएको थियो। दुई खेलमा अस्ट्रियाले जम्मा ६ गोल गर्दा नर्थ म्यासेडोनियाले जम्मा २ गोल मात्रै फर्काउन सकेको थियो। यसकारण नर्थ म्यासेडोनियासँगको खेलमा अस्ट्रिया उच्च मनोबलसाथ मैदानमा उत्रने भएको छ। 

यद्यपि, एक महिनाअघि नर्थ म्यासेडोनियाले ४ पटकको विश्वकप विजेता एवम् तीन पटकको युरोकप विजेता जर्मनीलाई विश्वकप छनौट चरणको खेलमा आश्चर्यजनक २–१ को अन्तरले हराएको थियो। त्यो जर्मनीका लागि पछिल्लो २० वर्षमा घरेलु मैदानमा भएको विश्वकप छनौट खेलमा पहिलो हार थियो। 

अस्ट्रियाका तीन मुख्य खेलाडीः कप्तान जुलियन बमगार्टलिंगर, फर्वार्ड मार्को आर्नोटोभिक र मिडफिल्डर क्रिस्टोभ बमगार्टनरलाई युरोकपअघि चोटपटक लागेको भए पनि आजको खेलमा सामेल हुने अपेक्षा गरिएको छ। चोटपटकले यी खेलाडीको प्रदर्शनमा असर पुर्याए वा सहभागी नभए म्यासेडोनियालाई खेल आफ्नो पोल्टामा पार्न केहि हदसम्म सजिलो हुनेछ। 

अनुशासित खेलका लागि चिनिने नर्थ म्यासेडोनियालाई कम आँक्न नसकिने भए पनि ‘स्पोर्ट्स मोल’ ले यो खेल २–१ ले अस्ट्रियाले जित्ने प्रक्षेपण गरेको छ। त्यस्तै ‘द हार्ड ट्याकल’ ले यो खेल २–० को अन्तरले अस्ट्रियाको पोल्टामा जाने नै आँकलन गरेको छ। ‘हु स्कोर्ड’ ले पनि बलियो टिम भएका कारण खेल अस्ट्रियाले जित्ने बताएको छ।     

Logo