रोनाल्डोले युरोकप २०२० मा तोड्न सक्ने १३ रेकर्डहरू (भिडियो रिपोर्ट)

रोनाल्डोले युरोकप २०२० मा तोड्न सक्ने १३ रेकर्डहरू (भिडियो रिपोर्ट)


व्यवसायिक फुटबलका सबैभन्दा सफल खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो देश पोर्चुगलका लागि पाँचौँ युरोकप खेल्दैछन्। क्लबका लागि राम्रो खेल्ने तर देशका लागि खेल्न नसक्ने भन्ने आरोप वर्तमान फुटबल जगतका दुई ठूला स्टार लियोनल मेस्सी र रोनाल्डोलाई लाग्दै आएकोमा २०१६ मा पोर्चुगललाई युरोकप जिताएर रोनाल्डोले त्यस आरोपको खण्डन गरेका थिए। 

उता मेस्सी आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधीका लागि कोपा अमेरिकामा खेल्दैछन् भने यता युरोपमा रोनाल्डो युरोकपको उपाधी जोगाउने तर्खरमा छन्। जीत–हार जे भए पनि रोनाल्डो र मेसी यस्ता खेलाडी हुन् जसले कुनै पनि म्याचमा रंग भर्न सक्छन्। युरोकपमा रोनाल्डो र कोपा अमेरिकामा मेस्सीको रोचक खेल छुटाउन चाहने फुटबल प्रेमी कमै होलान्।

खेलाडीको परख उसले कस्तो लेगेसी छोडेर जान्छ भन्नेबाट हुन्छ। खेलाडीले आफ्नो लेगेसी नयाँ नयाँ रेकर्डहरू राखेर नै बनाउन सक्छन्। रोनाल्डो युरो च्याम्पियनको टाइटल जोगाउने दबाबमा अवश्य छन्। तर, त्यस बाहेक उनी केहि मुख्य रेकर्ड तोड्ने यात्रामा पनि छन्। उनले युरोकप २०२० मा तोड्न सक्ने रेकर्डहरू यस्ता छन्ः 

१. युरोकपमा सबैभन्दा बढी म्याचमा विजयी
युरोकपमा सबैभन्दा बढी म्याचमा विजयको रेकर्ड ११ जीतसहित स्पेनका सेस्क फाब्रेगास र आन्द्रेज इनिएस्टासँगै पोर्चुगिज सुपरस्टार रोनाल्डोबीच बाँडिएको छ। फाब्रेगास र इनिएस्टा युरोकप २०२० मा सहभागी नरहेको अवस्थामा रोनाल्डोले यो रेकर्ड सजिलै आफ्नो नाममा पार्ने सम्भावना छ।   

२. युरोकपमा सबैभन्दा बढी गोल
९ गोलसहित यो रेकर्ड फ्रान्सका मिसेल प्लाटिनी र पोर्चुगलका रोनाल्डोका नाममा रहेको छ। सन् १९८८ मा खेलजीवनबाट अवकाश लिइसकेका प्लाटिनीको अनुपस्थितिमा यो रेकर्ड पनि रोनाल्डोले आफ्नो एकल नाममा दर्ज गर्ने अपेक्षा गरिएको छ।

३. कम्तिमा दुई गोलसहितको उच्च म्याच संख्या
युरोकप जस्तो ठूलो टुर्नामेन्टमा दुई गोल गर्न सजिलो छैन। त्यसमाथि एकभन्दा बढी म्याचमा दुई गोल गर्नेहरूको सूची लामो छैन। २ म्याचमा २ भन्दा बढी गोलहरू गर्नेमा अहिले जर्मनीका गर्ड मुलर, फ्रान्सका एन्टोन ग्रीजम्यान, इंग्ल्याण्डका वेन रूनी, जर्मनीका रुडी भोलर र पोर्चुगलका रोनाल्डोको नाम संयुक्तरूपमा दर्ज भएको छ। अरू खेलाडीहरूको अनुपस्थितिमा युरोकप २०२० मा फ्रान्सका ग्रीजम्यान र रोनाल्डोबीच यो रेकर्ड तोड्न प्रतिस्पर्धा हुनेछ।

४. कम्तिमा दुई गोलसहितको उच्च टुर्नामेन्ट संख्या 
३ युरोकप टुर्नामेन्टमा कम्तिमा दुई गोल गर्नेमा स्वीडेनका ज्लाटान इब्राहिमोभिच र पोर्चुगलका रोनाल्डोका नाममा रहेको छ। चोटपटकका कारण इब्राहिमोभिच यसपटक युरोकपमा सहभागी हुँदै छैनन्। रोनाल्डोले यो रेकर्ड पनि आफ्नो एकल नाममा दर्ज गर्ने प्रबल सम्भावना छ। 

५. युरोकप फाइनलमा सबैभन्दा बढी सहभागिता
युरोकप फाइनलमा २ सहभागिता भएका खेलाडीहरूको संख्या २२ रहेको छ, जसमा रोनाल्डो पनि पर्दछन्। ती २२ खेलाडीहरू मध्ये अहिले युरोकप खेल्दै गरेका रोनाल्डो मात्रै हुन्। उनीसँग यस रेकर्डमा प्रतिस्पर्धा गर्न सक्ने स्पेनका सर्जियो रामोस चोटपटकका कारण बिग्रिएको फर्मले गर्दा यस पटकको स्पेनिस टिममा छैनन्। पोर्चुगिज टिमका कप्तान रोनाल्डोले आफ्नो टिमलाई फाइनलसम्म पुर्याउन मात्रै सके यो रेकर्ड युरोकप फाइनलमा ३ सहभागितासहित उनको एकल नाममा रहनेछ।

६. छनौट चरणसहित युरोकपमा सबैभन्दा बढी सहभागिता
युरोकपका छनौट चरणका खेलहरू र मुख्य टुर्नामेन्टका खेलहरू गरी सबैभन्दा बढी सहभगिता भएका खेलाडी पूर्व इटालियन गोलकिपर जानलुइजी बफन हुन्। उनी ५८ खेलसहित शीर्ष स्थानमा छन् भने रोनाल्डो ५६ खेलसहित दोस्रो स्थानमा छन्। यो रेकर्ड रोनाल्डोले युरोकपका म्याचहरूमा सहभागी भएसँगै सजिलै तोड्नेछन्। 

उता मेस्सी आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधीका लागि कोपा अमेरिकामा खेल्दैछन् भने यता युरोपमा रोनाल्डो युरोकपको उपाधी जोगाउने तर्खरमा छन्। जीत–हार जे भए पनि रोनाल्डो र मेसी यस्ता खेलाडी हुन् जसले कुनै पनि म्याचमा रंग भर्न सक्छन्।

७. युरोकप फाइनलमा गोल गर्ने सबैभन्दा बयस्क खेलाडी
जर्मनीका बर्न्ड होल्जनबाइन युरोकप फाइनलमा गोल गर्ने एक मात्र ३० वर्षभन्दा माथिका खेलाडी हुन्। युरोकप २०१६ को फाइनलमा पोर्चुगल विजयी भए पनि रोनाल्डोले गोल गर्न सकेका थिएनन्। उनी यस युरोकपमा ३६ वर्षका छन्। आफ्नो टिमलाई फाइनलमा पुर्याएर गोल गरे उनी युरोकप फाइनलमा गोल गर्ने सबैभन्दा बयस्क खेलाडी हुनेछन्।

८. एकभन्दा बढी युरोप जित्ने कप्तान
पोर्चुगलले २०१६ मा रोनाल्डोकै कप्तानीमा युरोकप जितेको थियो। यसपटक पनि आफ्नो टिमलाई युरोकप जिताउन सके उनी आफ्नो टिमलाई दुई पटक युरोकप जिताउने दोस्रो कप्तान हुनेछन्। यस अघि स्पेनका पूर्व कप्तान इकर कसिलासले सन् २००८ र २०१२ मा आफ्नो टिमलाई युरोकप जिताएर रेकर्ड राखेका थिए।  

०००
उमेर बढेसँगै रोनाल्डोका नाममा रेकर्डहरू थपिने क्रम जारी छ। अरूको रेकर्ड तोडेर खेलाडीले आफ्नो लेगेसीलाई स्थापित गर्न त सक्छन्, तर रोनाल्डो जस्ता ‘रेकर्ड मेसिनहरू’ को प्रतिस्पर्धा आफैंसँग हुन्छ। उनी नयाँ रेकर्ड बनाउँदै आफैं तोड्ने गर्छन्। त्यसै अन्तर्गत आफ्नै नाममा रहेका अन्य चार रेकर्ड पनि रोनाल्डोले यस युरोकपमा तोड्न सक्छन्। 

९. सबैभन्दा बढी युरोकप म्याचमा सहभागिता
सन् २००४, २००८, २०१२ र २०१६ गरी ४ युरोकपका २१ म्याचमा सहभागी हुँदै युरोकपमा सर्वाधिक म्याच खेल्ने खेलाडीको रेकर्ड रोनाल्डोले बनाइसकेका छन्। युरोकप २०२० मा सहभागिता जनाएसँगै उनले त्यो आफ्नै रेकर्ड तोड्नेछन्। त्यस्तै अवकाश लिइसकेका जर्मन मिडफिल्डर बास्टियन स्वेनस्टाइगर १८ म्याचसहित र युरोकप २०२० मा नरहेका इटालियन गोलकिपर जानलुइजी बफन १७ म्याचसहित उनीभन्दा पछाडी छन्। रोनाल्डोको सहभागितामा पोर्चुगलले युरोकप २०२० जित्न सफल भए उनले २८ म्याचमा सहभागिताको रेकर्ड बनाउनेछन्।

१०. फिल्डमा सबैभन्दा बढी समय बिताउने खेलाडी
युरोकप टुर्नामेन्टमा उनका पछिल्ला चार सहभागितामा १७९३ मिनेट बिताएर फिल्डमा सबैभन्दा बढी समय बिताउने खेलाडीको रेकर्ड उनले बनाइसकेका छन्। युरोकप २०२० मा उनले आफ्नै यस रेकर्डलाई नयाँ उचाइमा लानेछन्।

११. कम्तिमा एक गोलसहितको उच्च म्याच संख्या
रोनाल्डोले युरोकपका ७ म्याचमा कम्तिमा एक गोल गरेका छन्। उनले यो आफ्नै रेकर्ड पनि तोड्ने प्रबल सम्भावना छ।

१२. कम्तिमा एक गोलसहितको उच्च टुर्नामेन्ट संख्या
युरोकपका ४ संस्करणमा सहभागिता जनाइसकेका रोनाल्डो युरोकपमा गोल नगरी अहिलेसम्म घर फर्केका छैनन्। ४ वटा संस्करणमा गोल गर्ने उनी एक मात्र खेलाडी हुन्। यस टुर्नामेन्टमा एक गोल मात्रै गरे भने पनि रोनाल्डो ५ वटा युरोकप टुर्नामेन्टमा गोल गर्ने खेलाडीका रूपमा इतिहास रच्नेछन्। 

१३. छनौट खेलसहितको टुर्नामेन्टमा उच्च गोल संख्या
मुख्य टुर्नामेन्टमा ९ गोल गरेका रोनाल्डोले छनौट खेललाई पनि समावेश गर्ने हो भने अहिलेसम्म ४० गोल गरेर आफ्नो नाममा रेकर्ड राखिसकेका छन्। यस शीर्षकमा क्रमशः २५ र २३ गोलसहित रहेका ज्लाटन इब्राहिमोभिच दोस्रो र रोबी किन तेस्रो स्थानमा रहेका छन्। एक त यी खेलाडी उपस्थित छैनन् र उपस्थित भइदिएको भए पनि रोनाल्डो भारी अन्तरले अगाडी छन्। यस युरोकपमा उक्त रेकर्ड रोनाल्डोले झन् बलियो बनाउने छन्।

Logo