युरोकपको ६० वर्षे इतिहासः सम्झनालायक १० खेल

युरोकपको ६० वर्षे इतिहासः सम्झनालायक १० खेल


सन् १९६० मा फ्रान्सबाट सुरु भएको युरोकप फुटबलको १६ औं संस्करण अहिले चलिरहेको छ। अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको थियो। युरोकपको ६० वर्ष पूरा भएको उपलक्ष्यमा यसपटक विभिन्न ११ राष्ट्रका ११ सहरमा प्रतियोगिता आयोजना भइरहेको छ।  युरोकपको इतिहासमै पहिलोपटक यसरी प्रतियोगिता आयोजना गरिएको हो। 

युरोकपको ६० वर्षभन्दा लामो इतिहासमा सम्झनालायक खेल तथा आश्चर्यजनक नतिजा उल्लेख्य छन्। केही खेलमा यस्तो नतिजा आउनेछ भन्ने अपेक्षा थोरैले मात्र गरेका थिए। 

युरोकप प्रतियोगिताका तिनै सम्झनालायक १० खेलहरुबारे चर्चा गर्न गरिएको छः 

१. उत्तरी आयरल्यान्ड २–० युक्रेन, युरोकप २०१६
युरोकप २०१६ को समूह चरणको खेलमा उत्तरी आयरल्यान्ड विजयी हुने अनुमान केवल २१ दशमलव ३ प्रतिशतले मात्रै गरेका थिए। तर, म्याकअउली र निअल म्याकगिनले गोल गर्दा उत्तरी आयरल्यान्डले २–० को जित निकालेको थियो। 

सन् १९८२ यता ठूला प्रतियोगितामा उत्तरी आयरल्यान्डले जित निकालेको त्यो पहिलो अवसर थियो। समूह चरणमा हासिल गरेको यही एउटै जित माइकल ओ निलको प्रशिक्षणमा रहेको टोलीका लागि नकआउट चरणमा पुग्न पर्याप्त रहेको थियो।

२. बेल्जियम १–३ वेल्स, युरोकप २०१६ 
युरोकप २०१६ को क्वार्टरफाइनल खेलमा वेल्सले बेल्जियमलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। वेल्स विजयी हुने सम्भावना १९ दशमलव ६ प्रतिशत मात्र गरिएको थियो। उक्त प्रतियोगितामा वेल्सका रोब्सन कानुले उत्कृष्ट गोल गरेका थिए। एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै खेल जितेको वेल्स अन्ततः प्रतियोगिताको सेमिफाइनलमा पुगेर इतिहास रच्न सफल भएको थियो।

३. आइसल्यान्ड २–१ इङ्ल्यान्ड,  युरोकप २०१६
युरोकप २०१६ कै अन्तिम १६ को इङ्ल्यान्ड र आइसल्यान्डबीचको खेल पनि सम्झनलायक  बनेको थियो । ८३ प्रतिशतभन्दा धेरैले उक्त खेल इङ्ल्यान्डले जित्ने विश्लेषण गरेका थिए। तथापि, १–० ले पछि परेको अवस्था उल्ट्याउँदै आइसल्यान्डले २–१ को जित दर्ता गरेर क्वाटरफाइनलको यात्रा तय गरेर इतिहास रचेको थियो। वायनी रुनीले खेलको चौथो मिनेटमै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। तर, आइसल्यान्डबाट रग्नर सिगुर्डस्सनले बराबरी गोल फर्काए भने कोल्बेइन सिग्थोरस्सनले निर्णायक गोल गरेका थिए। यस खेलपछि आइसल्यान्डको बहादुरीको प्रशंसा गरिएको थियो भने इङ्ल्यान्ड टिमको ठूलो आलोचना भएको थियो। यसै खेलपछि इङ्ल्यान्डका प्रशिक्षक रोय हड्सनले राजीनामा समेत दिएका थिए।

४. डेनमार्क १–० नेदरल्यान्ड्स, युरोकप २०१२ 
सन् २०१२ को युरोकपको समूह चरणको खेलमा डेनमार्कले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले हराएको थियो। यो खेल पनि युरोकपको एक सम्झनायोग्य खेलमा पर्दछ। 

केवल १९ प्रतिशतले मात्रै डेनमार्कले यो खेल जित्नसक्छ भन्ने अनुमान गरेका थिए। डेनमार्कका प्रशिक्षक मोर्टेन ओल्सेनले समेत खेलअघि नेदरल्यान्ड्स नै दाबेदार हो, यसमा कुनै शंका छैन भनी प्रतिक्रिया दिएका थिए।

नेदरल्यान्ड्सका प्रशिक्षक बेर्ट भान मार्विज्कले पनि आफ्नो टोली उपाधिको दाबेदार रहेको बताएका थिए। तर, दुर्ई वर्षअघि विश्वकपको फाइनलमा पुगेको नेदरल्यान्ड्सविरुद्ध डेनमार्कका माइकल क्रोन देहलीले पहिलो हाफमै गोल गरेका थिए। सुखद नतिजा निकाले पनि नकआउट चरणमा पुग्न डेनमार्क असफल रहेको थियो ।

५. फ्रान्स ०–१ ग्रीस, युरोकप २००४
युरोकप २००४ का हरेक खेलमा ग्रीसको प्रदर्शन अविश्वसनीय रहेको थियो। डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्धको क्वार्टरफाइनल खेलमा ग्रीसले जित्ने सम्भावना केवल १९ दशमलव १ प्रतिशतले मात्रै व्यक्त गरेका थिए। तर, ओट्टो रेहागलको प्रशिक्षणमा रहेको ग्रीस टोली उपाधि जित्नकै लागि आएको थियो।

सन् १९६० मा फ्रान्सबाट सुरु भएको युरोकप फुटबलको १६ औं संस्करण अहिले चलिरहेको छ। अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको थियो।

सोहीअनुरुप जिनेदिन जिदान, रोबर्ट पिरेस, थिएरी हेनरीजस्ता स्टार खेलाडी सम्मिलित फ्रान्स टोलीविरुद्ध ग्रीसका क्राइस्टिजले दोस्रो हाफमा हेडर गोल गर्दै फ्रान्सलाई १–० ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलमा चेक गणतन्त्रलाई १–० ले हराएको ग्रीसले फाइनलमा आयोजक पोर्चुगललाई १–० ले पराजित गर्दै उपाधि हात पारेको थियो।

६. पोर्चुगल १–२ ग्रीस, युरोकप २००४
युरोकप २००४ मा ग्रीसको चामत्कारिक खेललाई कसैले बिर्सने छैनन्। यही वर्ष ग्रीसले संसारलाई चकित पार्दै युरोकप उपाधि उचालेको थियो। फाइनल खेलमा ग्रीस र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदा २४ दशमलव ५ प्रतिशतले मात्रै ग्रीस विजयी हुने अड्कल गरिएको थियो, जसलाई ग्रीसले गलत साबित गरिदियो।

यद्यपि, हामी फाइनल खेलभन्दा पनि समूह चरणको चर्चा गर्दैछौं। एकै समूहमा रहेकाले प्रारम्भिक चरणमा पनि आयोजक पोर्चुगल र ग्रीसबीच प्रतिस्पर्धा भएको थियो। यतिबेला धेरैको अनुमान पोर्चुगलले ग्रीसलाई ठूलो गोलअन्तरले हराउँछ भन्ने थियो। ग्रीसले जित्ने सम्भावना २१ दशमलव ४ प्रतिशत मात्रै रहेको आँकलन गरिएको थियो। यद्यपि, जर्जियोस् कारागुनिस र एन्जेलोस बासिनासले गोल गर्दै ग्रीसलाई २–० ले अघि बढाएका थिए। खेलको अन्त्यतिर क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए पनि पोर्चुगल बराबरीमा भने फर्कन सकेन।

७. टर्की २–० बेल्जियम, युरोकप २०००
युरोकप २००० को समूह चरण खेलमा टर्की विजयी हुने सम्भावना छ भनी १९ दशमलव ७ प्रतिशतले मात्र धारणा व्यक्त गरेका थिए। तर, २–० को नतिजा टर्कीको पक्षमा गएको थियो, जुन टर्किस फुटबलको ७७ वर्षे इतिहासमा यो उत्कृष्ट उपलब्धि रहेको थियो। 

टर्कीका लागि दुवै गोल हाकन सुकरले गरेका थिए। यस जितसँगै टर्कीले युरोकपको नकआउट चरणमा स्थान बनाएको थियो।

८.स्कटल्यान्ड ३–० सिआइएस, युरोकप १९९२
युरोकप १९९२ को समूह चरणको खेलमा स्कटल्यान्डले जित्ने सम्भावना २१ दशमलव २ प्रतिशत छ भनी पोलले देखाएको थियो। आखिर नतिजा भने स्कटल्यान्डको पोल्टामै आएको थियो। स्कटल्यान्डका तत्कालीन प्रमुख प्रशिक्षक एन्डी रोक्सवर्गले अहिलेसम्म कुनै स्टकिस खेलाडीले गर्न नसकेको खेल प्रदर्शन गरेको भनी प्रशंसा गरेका थिए। 

युरोकपमा स्कटल्यान्डको यो डेब्यु प्रतियोगिता थियो। नेदरल्यान्ड्स र जर्मनीसँग पराजित भएको यो टोली प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भइसकेपछि अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै थियो। तर, यही खेल स्कटल्यान्डका लागि सबैभन्दा अविस्मरणीय बन्यो। उसले अन्तिम खेलमा कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सिआइएस) अर्थात् सोभियत संघको विघटनपछि गठन गरिएको देशको टिमविरुद्ध ३–० को जित निकालेको थियो। पाउल म्याकस्टे, ब्रायन म्याकक्लेयर र म्याकअलिस्टरले स्कटल्यान्डका लागि गोल गरेका थिए।

९.जर्मनी ०–१ स्पेन, युरोकप १९८४
युरोकप १९८४ को समूह चरणबाट सेमिफाइनलमा छनोटका लागि जर्मनीलाई केवल एक अंकको खाँचो थियो। त्यसैले जर्मनीले स्पेनसँग सामना गर्दा धेरैको अनुमान जर्मनी सहजै सेमिफाइनल पुग्छ भन्ने थियो। 

स्पेनले खेल जित्छ भन्ने २१ दशमलव ७ प्रतिशतले मात्रै धारणा राखेका थिए। खेलको अन्तिम मिनेटसम्म कुनै गोेल हुन नसक्दा जर्मनी सेमिफाइनल पुग्ने सम्भावना लगभग तय भइसकेको थियो। तर, ९० मिनेटमा एन्टोनियो मासेडाले स्पेनबाट निर्णायक गोल गर्दै जर्मनीलाई घर पठाएको थियो। समूह विजेताका रुपमा सेमिफाइनल पुगेको स्पेन फाइनलमा भने फ्रान्ससँग पराजित भएको थियो।

१०. इङ्ल्यान्ड ०–१ युगोस्लाभिया, युरोकप १९६८
युरोकप १९६८ को सेमिफाइनल खेलको नतिजा सम्झनलायक बनेको थियो। यतिबेला इङ्ल्यान्डले विश्वकप जितेको केवल दुई वर्ष मात्र बितेको थियो। खेलअघि २१ दशमलव ९ प्रतिशतले मात्रै युगोस्लाभियाले खेल जित्ने आँकलन गरेका थिए। तर, फुटबल कागजमा खेलिँदैन भनेर इङ्ल्यान्ड प्रशिक्षक अल्फ राम्सेको टोलीलाई युगोस्लाभियाले मज्जाले सबक सिकाएको थियो। 

बब्बी मुर, बब्बी चाल्र्टन, गोर्डन बैंक्स र जियोफ हस्र्टजस्ता स्टारहरुले भरिएको इङ्ल्यान्ड टोलीलाई पराजित गर्न खेलको ८६ औं मिनेटमा युगोस्लाभियाका ड्रागन जाजिकले गरेको गोल इङ्ल्यान्डलाई पराजित गर्न काफी बनेको थियो।

Logo